नयाँ शक्ति पार्टीको संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई कान्तिपथस्थित निर्वाचन आयोगमा चैत २० गते बिहान धर्ना दिन गएको बेला प्रहरीले हस्तक्षेप गर्दै गिरफ्तार गरेको छ ।
नयाँ शक्तिलगायतका पार्टीले स्थानीय तह निर्वाचनमा चुनाव चिन्ह माग गर्दै निर्वाचान आयोगमा धर्ना दिने क्रममा पूर्वप्रधानमन्त्री भट्टराई, सांसद गङ्गा चौधरी, क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, पूर्व मन्त्री हिसिला यमी, परशुराम तामाङलगायतलाई प्रहरीले गिरफ्तार गरेको हो ।
पुलिस क्लवमा राखिएका नेता तथा कार्यकर्तालाई जबरजस्ती प्रहरीले हस्तक्षेप गर्दै साँझ बाहिर निकालेको नयाँ शक्ति पार्टी सिरहा-काठमाडौँ सम्पर्क संयन्त्रका संयोजक किरण पासवानले जानकारी दिए । बाहिर निकालिएका नेता तथा कार्यकर्ताले पुलिस क्लव अगाडि नाराबाजीसमेत गरेका थिए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा निर्वाचन चिन्हसम्बन्धी व्यवस्था छ । यसले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई प्रदान गर्ने चुनाव चिन्ह निर्धारण गर्ने अधिकार निर्वाचन आयोगलाई दिएको छ । दफा २६ को उपदफा ६ मा राष्ट्रिय दलका उम्मेदवारलाई मात्र दलीय निर्वाचन चिन्ह दिइने उल्लेख छ । राष्ट्रिय दल भनेर संसदमा भएका २८ दललाई मात्र परिभाषित गरिएको छ ।