सल्यानको शारदा नगरपालिका–१ श्रीनगरको शिवमन्दिर नजिकै फागुन २२ गते फेला परेका ६८ वर्षीय ज्येष्ठ नागरिकलाई उद्धार गरी इन्सेक र मानव अधिकार रक्षक सञ्जाल सल्यानको सहकार्यमा परामर्शसँगै उपचारका लागि पहल गरिएको छ ।
छत्रेश्वरी गाउँपालिका–४ रोक्चा घर बताउने ६८ वर्षीय हिरालाल खत्रीलाई खलङ्गास्थित एक स्थानीयले फेला पारेपछि इन्सेकलाई खबर गरेका थिए । फागुन २२ गते राति उहाँलाइ जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको थियो ।
आफू घरेलु हिंसामा परेको र बिरामी भएको समयमा घरका सदस्यले उपचार समेत गर्न नमानेको भन्दै न्यायका लागि भौँतारिएको बताएपछि इन्सेक र मानव अधिकार रक्षक सञ्जालले सल्यान अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा उपचार तथा आवश्यक परामर्शका लागि सिफारिस गरेका छन् ।
इन्सेक प्रतिनिधिसँग कुरा गर्दै बृद्ध खत्रीले भन्नु भयो–‘हामी घरमा चार दाजु भाइ छौँ । पहिले देखिनै म बिरामी भइ रहने हुनाले मैले बिहे गरेको छैन । दाजुभाइहरूले मलाइ जालसाजी गरेर भएको सम्पत्ति सबै आफ्नो नाममा गरेछन्, सम्पत्तिको नाममा मसँग केहीपनि छैन ।’
फागुन २३ गतेदेखि सल्यान अस्पतालमा उपचार भइरहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तारा रिजालले जानकारी दिनु भयो ।