INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक मृत्यु घटनामा प्रहरीद्वारा तीन जनाविरूद्ध उजुरी दर्ता

ज्याभ्लिङ थ्रो खेलको अभ्यासका क्रममा घाइते भएका फालेलुङ गाउँपालिका–२ का १० वर्षीय अनुस राईको उपचारको क्रममा फागुन १६ गते मृत्यु भएपछि प्रहरीले तीन जनाविरूद्ध उजुरी दर्ता गरेको छ ।

प्रहरीले फालेलुङ गाउँपालिका–२ स्थित सिद्धकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक फालेलुङ गाउँपालिका–२ का ५६ वर्षीय वीरेन्द्र खत्री, खेल शिक्षक सोही ठाउँका ४३ वर्षीय वसन्त खत्री र १७ वर्षीय बालक सुरज कार्कीविरूद्ध फागुन १६ गते उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताउनु भयो ।

बालकको फागुन १६ गते उपचारका क्रममा मृत्यु भएपछि प्रधानाध्यापक, खेल शिक्षक र सुरज कार्कीविरूद्ध पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय विर्तामोडमा मौखिक उजुरी गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर डम्वर विश्वकर्माले बताउनु भयो ।

फागुन १५ गते विद्यालय परिसरमा ज्याभ्लिङ थ्रो खेलको अभ्यास गर्ने क्रममा कक्षा १२ मा अध्ययनरत सुरज कार्कीले फ्यालेको ज्याभ्लिङ कञ्चटमा लागि अनुस राई घाइते भएका थिए । उपचारका क्रममा फागुन १६ गते वि एण्ड सी अस्पताल झापामा घाइतेको मृत्यु भएपछि तीन जनालाई सोही दिन गिरफ्तार गरी कारबाही अघि बढाएको डिएसपी थापाले बताउनु भयो ।

फागुन २३ गतेदेखि सुरू हुन लागेको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि अभ्यासका क्रममा चौरमा हिँडीरहेको अवस्थामा छोरालाई ज्याभ्लिङले लागेको ४२ वर्षीय बाबु आइन्द्र राईले बताउनु भयो ।

शवको पोष्टमार्टम फागुन १६ गते मेची अस्पतालमा गरिएको छ । सोही दिन पीडित परिवारले शव बुझी फागुन १७ गते फालेलुङ गाउँपालिका–२ कटुसेमा सद्गत गरेको छ ।

बालकको मृत्यु भएपछि फागुन १६ गतेदेखि विद्यालय बन्द छ ।

अन्य

भिडियो