INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दकर्ताद्वारा पार्टी कार्यालय तोडफोड र आगजनीको प्रयास

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आव्हन गरेका राजनीतिक दलका कार्यकर्ताले पार्टी कार्यालयहरूमा फागुन १६ गते तोडफोड र आगजनीको प्रयास गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गरेको भन्दै विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जन गणतान्त्रीक मोर्चा, नेपाल, र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतले गरेको बन्दका क्रममा दिनभर जसो यातायातका साधन र बजार बन्द गराइरहेका प्रदर्शनकारीले बेलुका ५ बजेपछि उग्र हँुदै पार्टी कार्यालयहरूमा तोडफोड र आगजनीको प्रयास तथा मङ्गल गढीस्थित प्रहरी विट जलाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

कांग्रेस पार्टी कार्यालयको झ्यालको सिसाहरू फुटेको छ भने, गेटमा क्षति पुगेको छ । एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनीको प्रयास गरेको भएपनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि ठूलो क्षति हुन नपाएको डिएसपी घर्तीले बताउनु भयो ।

त्यस्तै, माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि तोडफोडको प्रयास गरिएको थियो । कांग्रेस पार्टी कार्यालयसँगै रहेको सुर्खेत उद्योग वाणिज्य सङ्घको कार्यालयमा राखिएको डिस्प्ले बोर्ड फुटाएको र मङ्गलगढी तथा एरिचोकस्थित एक÷एक ओटा प्रहरी विटसमेत जलाएको उहाँले जानकारी दिनुभयो ।

प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीबाट भएको क्षतिको सम्पूर्ण विवरणको मुचुल्का बनाइएको र क्षतिको एकिन विवरण नआएको प्रहरीको भनाइ छ ।

प्रदर्शनकारीहरू नियन्त्रण बाहिर गएर तोडफोड र आगजनी गर्न थालेपछि वीरेन्द्रनगर उपत्यकामा फागुन १६ गते बेलुका सवा ८ बजेदेखि फागुन १७ गते साँझ ७ बजेसम्म कर्फ्यू लगाइएको थियो ।

दुई जना घाइते

प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा मुढाबाट फागुन १६ गते दुई जना सर्वसाधारण घाइते भएका छन् ।

प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ का होटल व्यवसायी ३८ वर्षीय रणबहादुर डाँगीको टाउकोमा चोट लागेको छ भने, शाही खाजा घरकी १२ वर्षीया सुजाता शाहीको तीन ओटा दाँत झरेको छ ।

घाइते डाँगीलाई स्थानीय देउती अस्पतालमा प्राथमिक उपचारपछि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो भने, शाहीको उपचार माया नर्सिङ होममा भइरहेको डिएसपी घर्तीले जानकारी दिनु भयो ।

घाइते डाँगीको टाउकोमा लागेको चोट जटिल भएकाले प्रदेश अस्पतालले नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेकोमा त्यस अस्पतालले पनि उपचार गर्न नसक्ने भएपछि अन्नपूर्ण न्युरो अस्पताल काठमाडौं रिफर गरेको उहाँको पत्नी तुलसा डाँगीले जानकारी दिनुभयो ।

अन्य

भिडियो