INSEC Online

📅 २०८३ जेष्ठ २१

मतदान केन्द्र स्थापना गर्न माग

ताँजाकोट गाउँपालिका–३ मासपुर गाउँका स्थानीयले आगामि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि गाउँमै मतदान केन्द्रको माग गरेका छन् ।

गाउँबाट मतदान केन्द्र पुग्न दश घण्टा पैदल हिडेर जानुपर्ने भएपछि मासपुरबासीले उक्त माग गरेको स्थानीय दानबहादुर बुढाले बताउनु भयो ।

बिगतका वर्ष झैं यस पटकको स्थानीय तहको निर्वाचनमा मताधिकारबाट आफूहरूलाई बञ्चित नगराउन आयोगका पदाधिकारीसँग माग गर्नु भयो ।

वडाका कैलाश प्रावि थापा गाउँको मतदान केन्द्रमा मतदान गर्न गाउँवासीले दश घण्टा पैदल हिडेर जानुपर्ने हुँदा धेरै मतदाता मतदान गर्नबाट बञ्चित हुने गरेको उहाँको भनाइ छ ।

मतदान गर्न एक दिन हिडेर जानु पर्ने भएपछि अधिकांश मतदाता मताधिकारबाट बञ्चित हुँदै आएको गुनासो गर्दै भुगोलले गर्दा मासपुरवासी मताधिकारबाट बन्चित हुँदै आएको उहाँले बताउनु भयो ।

०७४ सालमा भएका तीनवटै तहको निर्बाचनमा मासपुरवासी मध्य १७ जनाले मात्र मतदान गरेका थिए स्थानीय बुढाले बताउनु भयो । उहाँले भन्नु भयो ‘मतदान केन्द्र नपुग्दै मतदान गर्ने अवधि सकिने भएकाले धेरै मतदाता नजाने गरेका छन् ।’

गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले आफू निर्वाचित भएदेखि नै मासपुरमा मतदान केन्द्र स्थापनाका लागि पहल गरिरहेको बताउनु भयो ।

बीस घरधुरीका ६७ जना मतदाता मध्य एक घरबाट एक जना मात्र मतदान गर्न केन्द्रमा बिहानै हिडेर जानुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनु भयो ।

यस्तो समस्या देखिएपछि गाउँपालिकाको कार्यपालिका बैठकबाट फागुन ८ गते निर्णय गराएरै मतदान केन्द्र माग गरिएको भएपनि सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक लामो दुरी पैदल हिडेर पार गर्न नसक्ने हुनाले मतादाधिकारबाट बञ्चित हुनु परेको गाउँपालिका अध्यक्ष मल्लको भनाइ छ ।

निर्वाचन समय अझै बाँकी रहेकाले केन्द्र स्थापनाका लागि राजनीतिक दल, निर्वाचन कार्यालय र आयोगसँग माग गरिएको उहाँले बताउनु भयो ।

सडक सञ्जालले नछोएको दुरदराजको बस्ती भएकाले मासपुरवासी हालसम्म निर्वाचनमा मतदान गर्ने अधिकारबाट बिमुख हुनु परेको स्थानीयवासीको गुनासो छ ।

जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले यसपटक नयाँ मतदान केन्द्र थपिने सम्भावना नभएको बताउनु भयो ।

मासपुरको समस्यालाई आयोगमा जानकारी गराउँदा गत वर्ष तय भएको मतदान केन्द्रलाई नै यथावत राख्ने र नयाँ नथपिने जानकारी पाएको कारण मासपुरवासीको समस्या समाधान हुनेमा उहाँले आशंका व्यक्त गर्नु भयो ।

अहिले मतदान केन्द्रबाट बस्ती टाढा रहेको गाउँहरूमा खार्पुनाथ गाउँपालिकाको ताक्ला, दुर्पा, लेख, कारङ्गा, सर्केगार्ड गाउँपालिकाको कुती, नाम्खा गाउँपालिकाको लामा खोल्सी गाउँका मतदाता एकदेखि दुई घण्टा पैदल हिडेर मतदान गर्दै आएको कार्यालयले जनाएको छ ।

०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा हुम्लामा ५२ वटा मतदान केन्द्र थिए ।

अन्य

भिडियो