अमेरिकी सहयोग परियोजनामा (एमसीसी) पारित भएपछि विरोध स्वरुप विभिन्न ६ ओटा राजनीतिक दल र दुई ओटा मोर्चाहरूले संयुक्त रूपमा आह्वान गरेको नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले फागुन १६ गते कर्फ्यू लगाएको छ ।
फागुन १६ गते साँझ सवा आठबजेदेखि फागुन १७ गते साँझ ७ बजेसम्मका लागि वीरेन्द्रनगरको पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगरको वडा नं. ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै एवम् सुब्बाकुनासम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।
प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन दुई दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको थियो । तर, भीड थप उग्र बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कफर््युको आदेश पालना नगरे आवश्यकता अनुसार सुरक्षाकर्मीले गोली समेत चलाउन सक्ने प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।
प्रदर्शनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालय, एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, बिच सडकमा राखिएको प्रहरी बिटहरू समेत जलाइएका छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गरेको भन्दै विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र क्रषि कट्टेल नेतृत्वको नेपाल कम्युष्निट पार्टी लगायतले फागुन १६ गते बन्दको आह्वान गरेका थिए ।
