भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत सैनिक जवान लवकुमार गुरूङले आफूलाई बिना कसुर यातना दिएको भन्दै सेनाका अधिकृतहरूविरूद्ध सरकारी वकिलको कार्यालय भरतपुरमा ०७८ फागुन १५ गते किटानी जाहेरी दिनुभएको छ ।
हतियार चोरी गरेको आरोपमा सेनाले नियन्त्रणमा लिई यातना दिई चोरीको आरोप स्वीकार गर्न लगाएको थियो । तर, जेल बसेको ३० महिनापछि निर्दोष सावित भएपछि ०७८ भदौ १८ गते भरतपुर कारागारबाट रिहा भएका गुरूङले भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत सेना अधिकृतहरू (घटना भएका बखत) महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी दिनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै जाहेरी लिन नमानेपछि अधिवक्ता कुमारप्रसाद थपलिया र अधिकारकर्मी सीता भुजेलसहितको रोहवरमा सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता भएको हो ।
उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९, हँडिया स्थायी घर भई तत्कालीन समयमा उक्त गणमा कार्यरत गुरूङले आफू निर्दोष हुँदा पनि चरम यातना दिएर जबर्जस्ती दोषी साबित गराएको भन्दै न्यायका लागि सोही गणमा कार्यरत सेनाका अधिकृतहरूविरूद्ध किटानी जाहेरी दर्ता गराएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
गणको सैनिक हिरासतभित्र रहँदाको समयमा मानसिक र शारीरिक यातना दिएर जबर्जस्ती आफूलाई दोषी ठहर्याएको जाहेरीमा उल्लेख छ ।
निर्दोष साबित भएर जेलबाट छुटेपछि लवकुमार ०७८ पुस १ गतेदेखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएर बसेका छन् । गुरूङको न्यायका लागि एड्भोकेसी फोरम नेपालले निःशुल्क बहस पैरवी गरिदिने भएको छ ।