मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) अनुमोदन गरेको विरोधमा प्रर्दशन गरीरहेका नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि फागनु १६ गते प्रहरीले लाठ्ठी प्रहार गर्दा सो पार्टीका दुई जना कार्यकर्ता घाइते भएका छन् भने दुई जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरीको लाठ्ठी प्रहारबाट नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन कञ्चनपुर समितिका उपाध्यक्ष २५ वर्षीय दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला सचिव २६ वर्षीय हरिश ऐरी घाइते भएका छन् ।
प्रहरीले भिमदत्त नगरपालिका–१ का बासुदेव भट्ट र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन कञ्चनपुर समितिका उपाध्यक्ष २५ वर्षीय दिपेन्द्र ऐरीलाई गिरफ्तार गरेको छ ।
प्रहरीले प्रहार गरेको लाठ्ठीबाट टाउँकोमा गहिरो चोट लागेर घाइते भएका दिपेन्द्र र हरिशको उपचार महाकाली अस्पतालमा भइरहेको छ ।
एमसीसी पास गरेको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीहरुमाथि प्रहरीले अत्याधिक बल प्रयोग गरी दमन गर्दै आएको र प्रदर्शनमा सहभागिभएकाहरुमाथि लाठ्ठी प्रहार गरी घाइते बनाएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव विरेन्द्र शाहको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लालबहादुर बममे एमसीसीको विरोध गरेर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरुले बजार बन्द गर्नुको साथै सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीमा क्षति पुर्याउन थालेपछि प्रहरीले नियन्त्रण गर्न खोज्दा घटना भएको बताउनु भयो ।
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्टि पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसीसी खारेजीको माग राखेर फागनु १६ गतेदेखि एमसीसी पास गरिएको भन्दै प्रदर्शन जारी गरेका छन् ।

