INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका घाइतेमध्ये एक जनाको स्वास्थ्य अवस्था गम्भीर

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध ०७८ फागुन १२ गते संसद भवन बानेश्वर बाहिर भएको प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप हुँदा आन्दोलनकारीतर्फ ६ जना, प्रहरीतर्फ एक जना र एकजना पत्रकार समेत गरी ८ जना घाइते भएका छन् ।

आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्याँस लागेर डडेल्धुराको नवदुर्गा गाउँपालिका –५ घर भई काठमाडौँ बस्दै आएका २५ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका छन् ।

उनको बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि ट्रमा सेण्टरमा रिफर गरिएको छ ।

घाइते अवस्थीको टाउकोमा चोट रहेको र अवस्था चिन्ताजनक रहेको पीडितका दाइ चुणामणि अवस्थीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

प्रदर्शनकारीले नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि प्रहरीले राखेको ब्यारीकेड तोडेर निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीतर्फ पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो ।

त्यस्तै आन्दोलनकै क्रममा प्रदर्शनकारीले प्रहर गरेको ढुङ्गा लागेर एभिन्यूज टेलिभिजनका क्यामेरामेन ३० वर्षीय सुरेश रजक घाइते भएका छन् ।

मुखमा चारओटा टाँका लगाईएका उनी नयाँ बानेश्वरको एभरेष्ट अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

आजको प्रदर्शनमा प्रहरीले १ सय ६३ सेल अश्रुग्याँस प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

प्रदर्शनका क्रममा भएका अन्य घाइते हुनेहरूमा कालिकोटका १८ वर्षीय जीवन मल्ल, सिन्धुपाल्चोकका २० वर्षीय चक्र तामाङ, ललितपुरका यवराज बज्रचार्य, काठमाडौँका आशुतोष पटेल, दोलखाका केदार शिवाकोटी र एक जना महिला प्रहरी घाइते भएका छने ।

घाइतेहरूको बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार गरिएको थियो ।

Gambhir Ghaite Hemraj AwasthiGhaite 2 Ghaite 3 Ghaite 4 Jhadap 3 Jhadap 6

अन्य

भिडियो