INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारीमाथि दुर्व्यवहार तथा धम्की

लेकबेशी नगरपालिकामा कार्यरत कर्मचारीले नेकपा एकिकृत समाजवादी नगर कमिटिका अध्यक्ष गोविन्दबहादुर शाहीको समूहले आफूलाई दुर्व्यवहार तथा धम्की दिएको गुनासो गरेका छन् ।

शाहीको समूहले फागुन ९ गते योजना शाखाका प्रमुख डिलाराम चपाईमाथि दुर्व्यवहार गरेको भन्दै नगरपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ती निकालेर विरोध जनाएका छन ।

उक्त समूहले कार्यकक्षमै कर्मचारीमाथि अवाञ्छित, झुटा विवरण सहित धम्की एवम् अपशव्द र गाली गलौज गरेको विज्ञप्तीमा उल्लेख छ ।

कर्मचारीले सुरक्षाको माग गर्दै राजनीतिक नेतृत्वबाटै कर्मचारीमाथि लज्जास्पद व्यवहार भएकोप्रति संलग्नलाई कारवाहीको माग गरेको छ ।

वडाबाट सिफारिस भएर आएको लेकबेशी–१ को सडक निर्माण योजनामा सम्झौताको विषयलाई लिएर शाहीको समूहले अपशव्द बोल्दै कर्मचारीलाई ज्यान मार्ने धम्की र कालोमोसो दल्ने चेतावनी दिएको नगरपालिकाका निमित्त प्रमुख केशर डाङ्गीले जानकारी दिनुभयो ।

डाङ्गीका अनुसार प्रदेश सरकार अन्तर्गतको योजना वडाका जनप्रनितिधिबाट सिफारिस भई आएको र समाजवादी पक्षले पार्टीगत रूपमा योजनामा आफ्नो प्रतिनिधित्व हुनुपर्ने भन्दै सम्झौता रोक्न माग गरेको बताउनुभयो ।

‘वडाबाट सिफारिस भएर आएको योजनामा हाम्रो (समाजवादी)पार्टीको तर्फबाट कोषाध्यक्ष र सचिव मध्ये एक हुनुपर्‍यो भन्ने उहाँहरूको भनाइ थियो’ निमिक्त प्रमुख डाङ्गीले भन्नुभयो,–‘प्रक्रियागत रूपमा सम्झौताका लागि आएको योजनालाई हामीले रोक्ने कुरा हुदैन्, मैले तोक लगाएर योजना शाखामा पठाएँ ।’

राजनीतिक नेतृत्वबाट भएको यो खालको क्रियाकलाप र घटनाको विषयमा कर्मचारीले स्थानीय प्रशासनलाई समेत जानकारी दिएका छन् । ।

आरोपित समाजवादीका नगर अध्यक्ष शाहीले आफूहरूले कुनै दुर्व्यवहार नगरेको भन्दै चरित्र हत्या गर्न खोजेको आरोप लगाउनुभयो । प्रदेश सरकारको निर्णय अनुसार योजनाको काम हुनुपर्ने आफ्नो माग  रहेको उहाँको भनाइ छ ।

‘वडाले सर्वदलीय बैठक नराखेर योजनाको रिफारिस गरेछ’ नगर अध्यक्ष शाहीले भन्नुभयो,–‘प्रदेश सरकारले २० लाख बढीका योजनाको टेण्डर गर्नुपर्ने निर्णय हुँदा हुँदै उपभोक्ता समिति बनाएर बेथिति गर्न खोजेको जस्तो देखियो ।’

कर्मचारीमाथि आफूहरूले गाली गलौज गरेको भए छानविन गरेर सजाय भोग्न तयार रहेको शाहीको भनाइ छ ।

Photo20220223 skt

अन्य

भिडियो