१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ३६ वर्षीय बाबुलाई दैलेख जिल्ला अदालतले फागुन ९ गते ३५ वर्ष कैद, पीडित बालिकालाई एक लाख रूपियाँ क्षतिपूर्ति र दुई हजार आठ सय रूपियाँ पीडित राहत कोषमा योगदान गर्नुपर्ने सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट हाडनाता करणी कसुरमा २५ वर्ष र बलात्कार कसुरमा १० वर्ष कैद गरी ३५ वर्ष कैदसँगै कसुरदारले क्षतिपूर्ति र नेपाल सरकारको पीडित राहत कोषमा उक्त रकम भराउनुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
मुलुकी अपराध सहिंता २०७४ को दफा २२० को उपदफा २ (क) मा उल्लेखित ‘जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद’ र दफा २१९ मा पीडित महिलाको उमेर हेरी सजाय सजाय हुने व्यवस्था अनुसार उपदफा ३ (घ) मा लेखिए अनुसार ‘१६ देखि १८ वर्ष उमेरकी बालिकालाई करणी गरेमा १० देखि १२ वर्ष कैद हुन्छ’ भन्ने कानूनी व्यवस्था अनुसार एकै मुद्दामा २५ वर्ष जन्मकैद र थप सजाय १० वर्ष समेत ३५ वर्ष कैद गरिएको न्यायाधीश लामिछानेले फैसलामा व्याख्या गर्नुभएको छ ।
०७८ साउन २८ गते १७ वर्षीया छोरीलाई आफ्नै बुबाले बलात्कार गरेको भन्दै ०७८ मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीका आधारमा प्रहरीले त्यही दिन घरबाटै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते दैलेख अस्पतालमा भएको थियो ।
दैलेख जिल्ला अदालतमा ०७८ पुस ४ गते दर्ता भएको हाडनाता करणी सम्वन्धी अभियोगमा पुस ६ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि थुनामा राख्न दैलेख काराकारमा पठाइएको थियो ।
आफू माथि तीन वर्षदेखि पटक पटक बलात्कार गर्दै आएका आरोपितले पछिल्लो पटक साउन २८ गते बलात्कार गरेको र भदौ १ गते पुनः चेष्टा गरेपछि प्रतिवाद गरेको पीडित बालिकाको भनाइ छ ।
प्रतिवादपछि गाउँ नजिकैको बजारको एक होटलमा २५ दिन भाँडा माझ्ने काम गरेपछि सुरक्षित बसाईँका लागि सुर्खेतमा आफन्तको संरक्षणमा बसेकी थिइन् ।
पीडित बालिकाले कानूनी उपचारमा जाने भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)मा निवेदन दिएपछि मानव अधिकार सहायता कक्षको ०७८ पुस ६ गतेको निर्णय अनुसार पाँच हजार रूपियाँ सहयोग गरेको थियो ।
इन्सेकको समन्वयमा दैलेख सदरमुकामस्थित सामाजिक सेवा केन्द्र (सोसेक)को महिला तथा बालबालिका सेवा केन्द्रले कानूनी सहयोग र कानूनी प्रक्रिया अवधिका लागि पीडित बालिकालाई करिब एक महिना आवास गृहमा संरक्षण दिएको थियो ।
कानूनी प्रक्रिया सुरू भएपछि ‘कमाउने बाबुलाई थुनाएकी’ भनी घरका बाजेबज्यै र आफन्तले असहयोग गर्न थालेपछि मामाघरको संरक्षणमा बालिकाले कक्षा १२ को पढाइलाई निरन्तरता दिएकी छिन् ।
बालिकाको पढाइका लागि इन्सेकले स्टेशनरी लगायतको सहयोग गरिरहेको छ ।