मधेस प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजानिक गरिएको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा विमोचित नेपाल मानव अधिकार वर्ष पुस्तक जनकपुरधाममा भने उच्च अदालत जनकपुरधामका न्यायाधीश हरिप्रसाद बगालेले सार्वजनिक गर्नु भएको हो ।
न्यायाधीश बगालेले मानव अधिकारको क्षेत्रमा नेपाल सरकारले गर्ने काम भन्दा पनि इन्सेकले गर्दै आएको कामलाई प्रशंसनीय भएको बताउनु भयो ।
इन्सेकले मानव अधिकारको विषयलाई सम्बेदनशीलताका साथ दस्तावेजिकरण गर्दै आएकाले आगामी दिनमा समेत यसको निरन्तरताको उहाँले कामना गर्नु भयो ।
मधेस प्रदेशमा जातीय छुवाछुत, ‘बोक्सी’ आरोप, कुटपिटलगायतका घटनामा वृद्धि हुँदै गरेकाले यसतर्फ राज्यका निकायहरू गम्भीर हुन जरुरी रहेको उहाँले बताउनु भयो ।
इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले मधेस प्रदेशमा ७ सय ५८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको बताउनु भयो ।
कार्यक्रममा प्रदेशका प्रमुख सरोकारका विषयहरू, कोभिड–१९ को सङ्क्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार लगायतका विषयमा तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
प्रस्तुत तथ्याङ्क अनुसार मधेस प्रदेशमा सन् २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ५८ घटना भएकोमा अपहरणका घटनामा २४ जना, गिरफ्तारीमा तीन जना, महिला अधिकार उल्लङ्घनका घटनामा २ सय २८ जना, बाल अधिकार उल्लङ्घनका घटनामा २ सय २३ जना पीडित भए ।
मधेस प्रदेश सभाका सांसद मञ्जु यादवले न्यायलय स्वतन्त्र हुन नसकेको बताउनु भयो । इन्सेकले मानव अधिकारको क्षेत्रमा गरेको काम र प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक उत्कृष्ट भएको उहाँले बताउनु भयो ।
सशस्त्र प्रहरीका एसएसपी विष्णुप्रसाद भट्टले इन्सेकले सार्वजानिक गरेको कितावले मानव अधिकार संरक्षण र सम्बद्र्धनमा सहयोग गर्दै आएको बताउनु भयो ।
नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष किशोरी साहले न्यून स्रोत साधनका बावजुद पनि मानव अधिकार वर्ष पुस्तक प्रकाशन गरेर राज्यलाई सहयोग गरेकोले पुस्तक एकदमै महत्वपुर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा २०२१ मा मानव अधिकार अभिलेख र पैरवीमा प्रदेशमा उत्कृष्ट कार्य गरेको भन्दै रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनालाई पुरस्कृत गरिएको छ ।
उच्च अदालत जनकपुरधामका न्यायाधीश हरिप्रसाद बगालेले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।



