अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आह्वान गरिएको फागुन ४ गते नेपाल बन्दका क्रममा बजार तथा यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले सिरहाको गोलबजारबाट १० जना बन्दकर्तालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेहरूमा गोलबजार नगरपालिका–२ का ४३ वर्षीय राम नारायण सिंह, गोलबजार नगरपालिका–६ का ३५ वर्षीय शम्भु साह, गोलबजार नगरपालिका–४ का ४२ वर्षीय उचित महरा, मोरङ जिल्ला केराबारी गाउँपालिका–३ का २९ वर्षीय कान्त्री तामाङ, गोलबजार नगरपालिका–६ का ३७ वर्षीय सञ्जय सिंह, धनगढीमाई नगरपालिका–१० का ४२ वर्षीय रामकिशोर दास, मिर्चैया नगरपालिका–७ का ५६ वर्षीय भक्तराम कार्की, गोलबजार नगरपालिका–२ का ४१ वर्षीय विष्णुलाल सिंह, गोलबजार नगरपालिका–६ का ३७ वर्षीय रणजित सिंह र कर्जन्हा नगरपालिका–५ का ४७ वर्षीय राजु विक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।
गिरफ्तार गरिएका सबैलाई सोही दिन साँझ आफन्तको जिम्मामा रिहा गरिएको डिएसपी खतिवडाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोे नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका थिए ।