१६ वर्षीया बालिकालाई बालविवाह गरेको कसुरमा नारायण नगरपालिका–५ छातिकोटका २२ वर्षीय बिशाल भन्ने मनबहादुर बिकलाई दैलेख जिल्ला अदालतले फागुन ५ गते एक वर्ष कैद र १० हजार रूपिंयाँ जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट भएको फैसलामा आफू उमेर नपुगी बाल विवाह गर्ने १६ वर्षीया बालिकालाई पनि ६ महिना कैद तोकी हाललाई पढाइलाई ध्यान दिन बाल सुधारमा जानु नपर्ने गरी सजाय स्थगन गरिएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
बालविवाह गर्ने कसुरदार मध्ये बालिका १८ वर्ष भन्दा कम उमेरकी भएको कारण बाल न्याय कार्यविधि अनुसार कम सजाय र उमेर नपुगेकी बालिकालाई बालविवाह गर्ने कसुरदार बयस्क भएको कारण एकै कसुरमा फरक फरक सजाय भएको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले बताउनुभयो ।
पहिलो पटक ०७८ भदौमा उनीहरूले बाल विवाह गरी भागेकोमा प्रहरीले केटा र केटीका अविभावकहरूको जिम्मामा छोडिएकोमा दोस्रो पटक पनि भागेको भन्दै मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको थियो ।
घटना सम्बन्धमा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले पुस १२ गते दैलेख जिल्ला अदालतमा बाल विवाह सम्बन्धी अभियोग दर्ता गराएको थियो ।
अभियोग सम्बन्धमा पुस १३ गते भएको थुनछेक बहसपछि बालिका १८ वर्ष मुनिको भएकोले अदालतले खोजेको समयमा हाजिर गराउने गरी अविभावकको जिम्मामा छाडिएको र बालविवाह गर्ने युवक बयस्क भएको कारण एक लाख २० हजार रूपियाँ धरौटी तारेखमा छाडिएको थियो ।