बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका नागरिकका परिवारका लागि छुट निवेदन माग गरेपछि दाङमा थप ६ वटा उजुरी दर्ता भएका छन् ।
द्वन्द्वपीडितहरूले यसअघि उजुरी दिन छुटेको भन्ने गुनासो गरेपछि आयोगले ०७३ फागुन १७ गतेदेखि चैत १५ गतेसम्म पुनः उजुरी आह्वान गरेको थियो ।
आयोगले दिएको समय सिमाभित्र स्थानीय शान्ति समिति दाङमा ६ वटा उजुरी परेको स्थानीय शान्ति समिति दाङका संयोजक नेत्रप्रकाश पाण्डेले बताए ।
यसअघि बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ०७३ वैशाख २ गतेदेखि असार मसान्तसम्म उजुरी आह्वान गरेको थियो । त्यतिबेला दाङबाट १ सय २९ जनाले उजुरी दिएका थिए । त्यस्तै सत्यनिरूपण आयोगले गत वैशाख ५ गतेदेखि असार मसान्तसम्म उजुरी आह्वान गरेपछि जिल्लाबाट १ हजार ४ सय २ जनाले उजुरी दिएका थिए ।