अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आह्वान गरिएको नेपाल बन्दका क्रममा बजार तथा यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले झापा, उदयपुर र खोटाङमा गरी नौ जना बन्दकर्तालाई गिरफ्तार गरेको छ ।
खोटाङ्ग प्रतिनिधि तारानाथ फुयलका अनुसार मध्यपहाडी लोकमार्गमा अन्र्तगत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ स्थित दिक्तेल बजारमा यातायात बन्द गराएको आरोपमा प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका जिल्ला सेक्रेटरी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ५७ वर्षीय झमप्रसाद आचार्य, नेत्रविक्रम चन्द (विप्लव) का सचिवालय सदस्य हलेसी तुवाचुङ नगरपालिका–२ का ३१ वर्षीय सुदीप शर्मा, विप्लवका कार्यकर्ता दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ का २२ वर्षीय कमल थापा, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का १९ वर्षीय संगम राई र हलेसी तुवाचुङ नगरपालिका–८ का १९ वर्षीय अजय चाम्लिङलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।
उदयपुर प्रतिनिधि सुजाता ढुङ्गानाका अनुसार एमसीसीको विरोधमा बजार बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य त्रियुगा नगरपालिका–११ का २३ वर्षीय हरि विष्टलाई फागुन ४ गते गिरफ्तार गरेको छ । कटारी नगरपालिका–१० स्थित पीपल चोकमा गाडीहरू बन्द गराउँदै हिँडेको अवस्थामा आरोपितलाई प्रहरीले अनुसन्धानका लागि पिपलचोकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सुवासचन्द्र बोहोराले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार एमसीसीको विरोधमा नेपाल बन्दको आवहन गरी बजार बन्द गराउँदै हिँडेका आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । कन्काई नगरपालिका–४ दुर्गापुरबाट बन्दकर्तालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । कन्काई नगरपालिका–७ का ३६ वर्षीय सफल लिम्बू, ३३ वर्षीय पर्वत कडरिया र वुद्धशान्ति गाउँपालिका–३ का ४८ वर्षीय मोहन लकान्द्रीलाई गिरफ्तार गरेको डिएसपी पाठकले बताउनु भएको छ ।