INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार एवम् अभियानकर्मीलाई मार्ने धम्की

पत्रकार एवम् सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानकर्मी सप्तकोशी नगरपालिका–११ भगनीका २६ वर्षीय कैलाश माझीलाई ‘मधेसी भाइरस किलर समूह’ले मार्ने धम्की दिएको भन्दै पीडितले फागुन २ गते शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिनु भएको छ ।

मार्ने धम्की दिएपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई भेटी उजुरी दिएको पीडित माझीले इन्सेक सप्तरी प्रतिनिधिलाई बताउनु भयो ।

माझीका अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा र जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा फागुन २ गते पत्राचार गरेको छ ।

सुशासनका लागि भ्रष्टाचारविरुद्ध अभियानमा सक्रिय माझी सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका सदस्य र जागौँ नेपाल मधेस प्रदेशका सदस्य सचिवका साथै पिपुल्स न्युज र अन द स्पोट न्युजका सप्तरी सम्वाद्दाताका रूपमा कार्यरत हुनुहुन्छ ।

फागुन १ गते राति सुतेको बेला ढोका अगाडि छाडिएको मधेसी भाइरस किलर (कुनौली) का सहइन्चार्ज प्रकाश यादव (प्रभास) को हस्ताक्षरित पत्रमा माझीलाई हत्या गर्ने धम्की दिइएको छ ।

उक्त पत्रमा स्थानीय तहसँग सूचना माग गरेको, सूचना र पैसा नदिने स्थानीय तहको बदनाम गरेको कारण देखाउँदै माझीको घरमा आगो लगाइ दिने, घरमै आएर गोली हानी मार्ने र जहाँ भेट्यो त्यहीँ गोली हानी मार्ने लगायतको धम्की दिइएको छ ।

प्रकाश यादव (प्रभास) को हस्ताक्षरसहित पठाइएको पत्रमा सप्तकोशी नगरपालिका–१० कमलपुरमा रहेका उनको समूहको व्यक्तिले माझीको मोबाइल र आइडी ट्याक गरी निगरानी गरिरहेको, माझीको अपहरण गर्न घर वरिपरी चक्कर लगाए पनि सफल हुन नसकेको र पुनः पूर्ववत काम गरेमा घरमै आएर गोली हानी मार्ने धम्की दिइएको छ ।

उक्त पत्रलाई मिडियाबाजी गरे, प्रहरीमा खबर गरे वा कसैलाई भनेमा सो को परिणाम मृत्युबाट चुकाउनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।

बाँच्न चाहने हो भने चुप लागेर बस्न तथा सफाइ दिन चाहेमा सम्पर्क गर्न भन्दै पत्रमा भारतीय नम्बर ००९१८९६३२०७५१० दिइएको छ ।

अन्य

भिडियो