INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिडबाट मृत्यु भएका व्यक्तिका प्रति परिवारलाई एक लाख राहत वितरण

कोभिड–१९ सङ्क्रमण पुष्टि भई मृत्यु भएका प्रति घरपरिवारलाई कर्णाली प्रदेश सरकारले १ लाख रुपियाँका दरले राहत रकम उपलब्ध गराएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कर्णाली प्रदेशका दश जिल्लाका १ सय ७१ जना मृतकका परिवारमध्येका हकवालालाई उपलब्ध गराइएको हो ।

सुर्खेतका ८९ परिवार, जाजरकोटका १०, दैलेख १९, रुकुमपश्चिम ११, सल्यान २३, कालिकोट ६, जुम्ला १०, हुम्ला र मुगु एक÷एक घरपरिवारलाई एक लाख रुपियाँका दरले राहत रकम उपलब्ध गराइएको मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिनुभयो ।
यसका साथै काठमाण्डौको एक परिवारलाई राहत दिइएको छ । गएको वैशाख २० गते प्रदेश मन्त्रिपरिषद् बैठकले कोभिड सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम उक्त राहत रकम उपलब्ध गराइएको मन्त्रालयको भनाई छ ।

अघिल्लो आर्थिक वर्षमा १ सय ३२ जना कोभिड मृतकका प्रति परिवारलाई एक लाख रुपियाँ दिइएको मन्त्रालयका सूचना अधिकारी रोशन बहादुर शाहीले जानकारी दिनु भयो । अब बाँकी रहेका मृतकका परिवारलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट दिने व्यवस्था मिलाउने मन्त्रालयका सूचना अधिकारी शाहीले बताउनु भयो ।

सरकारी कर्मचारीका हकमा प्रदेश बाहिर घरभई कामको सिलसिलामा कर्णाली प्रदेशमा मृत्यु भएका परिवारलाई एक लाख दिन सकिने कार्यविधिमा उल्लेख भएको आधारमा एक जना काठमाण्डौंका मृतकका परिवारलाई पनि उक्त रकम वितरण गरिएको सूचना अधिकारी शाहीले जानकारी दिनु भयो ।

अन्य

भिडियो