अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र द काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाको छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न नेपाल पत्रकार महासङ्घले माग गरेको छ ।
महासङ्घले चैत १५ गते एक विज्ञप्ति जारी गरी काठमाडौँको पर््रदशनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका दृष्य सङ्कलन गरिरहेका फोटो पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षा भएको भन्दै सो मााग गरेको हो ।
निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी सङ्गठन र प्रहरीबीच भएको झडपको फोटो खिचिरहेको अवस्थामा फोटो पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको विज्ञप्तिमा जनाइएको छ ।
एकीकृत माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीलगायत केही विद्यार्थी सङ्गठनले रत्न राज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्ववियु निर्वाचनको विरोध गरेका थिए । तर, उनीहरूले यस अघि नै उम्मेदवारी दर्ता गराइसकेका थिए ।