१५ वर्षीया एक बालिकालाई अभिभावकले जबरजस्ती गराएको विवाह स्थानीयबासिन्दाले चैत १४ गते बदर गराएका छन् ।
आफूलाई जबरजस्ती विवाह गराएको भन्दै बालिकाले भेरी नदीमा हामफालेर आत्महत्याको प्रयास गरेपछि स्थानीयबासीले उनको विवाह बदर गरेका हुन ।
पीडित बालिकाका अभिभावकले त्रिपुरा सुन्दरी नपा-७ का २५ वर्षीय केशव नेपालीसँग चैत १० गते बालविवाह गराएका थिए ।
पीडित बालिकाले चैत ११ गते भेरी नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेपछि स्थानीयबासिन्दाले नदीबाट उद्धार गरेको ठूली भेरी नपा-९ निवासी महिला जागरण मञ्चकी सदस्य शान्ति कठायतले बताइन् ।
पीडित बालिकाका आमा, बुवा तथा केशव नेपाली, उनका आमा र बुवा दुवैलाई बोलाएर अब आइन्दा यस्तो गल्ती नदोर्याउने शर्त गराइएको कठायतले जानकारी दिइन् ।
चैत १४ गते गाउँमा कागज गराएर बालिकाको इच्छा विपरीत र उमेर नपुगुञ्जेल विवाह गर्न नपाउने शर्तमा विवाह बदर गराई मिलापत्र गरिएको उनले बताइन ।