विभिन्न जिल्ला अदालतमा चलिरहेका बलात्कारसम्बन्धी मुद्दामा कैद फैसला भएका समाचार जिल्ला प्रतिनिधिहरूले पठाएका छन् ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर मनपा-२२ का ४२ वर्षीय प्रकाश श्रेष्ठलाई जिल्ला अदालत चितवनको चैत १४ गतेको फैसलाले १० वर्षकैद सजाय सुनाएको छ ।
न्यायाधीश सुवासबाबु पुरीको इजलासले १० वर्षकैद र पीडितलाई १ लाख रुपियाँ महिला तथा बालबालिका कार्यालयबाट भराउने फैसला भएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
गत साउन २९ गते पीडित बालिकालाई बलात्कार गरेको अरोपमा पीडितका बावुले जिल्ला प्रहरी कार्यालय चितवनमा साउन ३० गते उजुरी दिएका थिए ।
प्रहरीले श्रेष्ठलाई साउन ३० गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १ गते भरतपुर अस्तपालमा गरिएको थियो ।
त्यसैगरी २२ वर्षीया महिलालाई बलाकार गरेको कसुरमा चितवन जिल्ला अदालतले नारायणी नपा-५ का २२ वर्षीय अनिल परियारलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको छ । न्यायाधीश नारायण सुवेदीको चैत १४ गतेको इजलासले यस्तो फैसला गरेको हो ।
पीडित महिलालाई आरोपितले गत कात्तिक १८ गते बलाकार गरेको भन्दै पीडित महिलाले कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् ।
आरोपित परियारलाई प्रहरीले कात्तिक १९ गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते भरतपुर अस्पतालमा भएको थियो ।
इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा विराटनगर उमनपा-६ का ७० वर्षीय बासुदेव कोईरालालाई जिल्ला अदालत मोरङले पाँच वर्षकैदको फैसला गरेको छ ।
न्यायाधीश प्रकाश राउतको इजलासले चैत १४ गते कैदसँगै १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।
पीडित बालिकालाई आरोपितले ०७२ फागुन १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा फागुन १८ गते उजुरी दिएको थियो । पीडित बालिकाले पीडा सहन नसकी कोठामा आत्महत्या गर्न लाग्दा घटना बाहिर आएको हो । प्रहरीले आरोपिलाई फागुन २० गते गिरफ्तार गरेको हो ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार ६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा शान्तिनगर गाउँपालिका-२ का ४६ वर्षीय बालकृष्ण बिश्वकर्मालाई जिल्ला अदालतले १० वर्षकैद गर्ने फैसला गरेको छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले चैत १३ गते विश्वकर्मालाई १० वर्षकैद तथा पीडित बालिकालाई ३५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
पीडित बालिकालाई आरोपितले गत माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो ।