INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक अभावको कारण कोभिड–१९ पिसिआर परीक्षण प्रयोगशाला बन्द

दैनिक ५० भन्दा बढी कोभिड–१९ सङ्क्रमित दैनिक थपिएका बेलामा आर्थिक अभावको कारण कोभिड–१९ परीक्षण प्रयोगशाला बन्द गर्नुपरेको छ ।

पछिल्लो दुई हप्तामा ५ सय ४३ जना कोभिड–१९ का सङ्क्रमित भएका छन् । कोभिड–१९ सङ्क्रमण गाउँ–गाउँमा फैलिएको छ । तर, जिल्लाको कोभिड–१९ प्रयोगशाला रकम अभावको कारण बन्द भएको छ ।

२ करोड ५० लाख रुपियाँ खर्च गरेर सञ्चालन गरेको प्रयोगशाला बन्द भएपछि नागरिक कोभिड–१९ परीक्षणका लागि एण्टिजिनकै भर पर्नुपर्ने अवस्था आएको छ ।

कोभिड–१९ को पहिलो लहरमा पिसिआर परीक्षण गर्न बुटवल काठमाडौँ पुग्नुपर्ने अवस्था स्थिति थियो । सोही अवस्थाको अन्त्य गर्नको लागि जिल्लाका स्थानीय तहको सहयोगमा ०७७ असोजबाट गुल्मी अस्पतालले कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याएको थियो ।

सुरुमा प्रयोगशाला व्यावस्थापनको लागि प्रति नगरपालिकाले १५ लाख रुपियाँ र प्रति गाउँपालिकाले १० लाख रुपियाँ सङ्कलन गरेका थिए ।

गुल्मीमा दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिका रहेका छन् ।

अहिले पनि आर्थिक सङ्कलन गरेर प्रयोगशाला सञ्चालन गर्ने वा एण्टिजिनबाट परीक्षण गर्ने भन्ने विषयमा तत्काल केही निर्णय नभएकाले प्रयोगशाला बन्द गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।

पच्याका अनुसार पिसिआर परीक्षणको लागि प्रयोगशाला सञ्चालन गर्दा मासिक ४० लाख रुपियाँभन्दा बढी खर्च आउँछ ।

समय र पैसाको हिसावले पिसिआर भन्दा एन्टिजिन परीक्षण छिटो छरितो र सस्तो भएकाले प्रयोगशाला सञ्चालनमा जोड नदिइएको पच्याले बताउनुभयो ।

तर, प्रयोगशाला सञ्चालन गर्न दिर्घकालिन रूपमा आर्थिक स्रोत भए सञ्चालन गर्नुपर्ने पच्याको तर्क छ ।

नागरिक समाजका अगुवा गुणानिधि शर्माले केन्द्रिय नेता र मन्त्री भएको जिल्लाको प्रयोगशाला बन्द हुनु निकै दुभाग्यपूर्ण भएको बताउनु भयो ।

उहाँले केन्द्र र प्रदेशबाट सहयोग नै नभए पनि जिल्लाका १२ स्थानीय तहको सकरात्मक सोच भए सञ्चालनमा कुनै समस्या नरहेको शर्माको भनाइ छ ।

स्थानीय व्यावसायी चेतनारायण पाण्डेयले सरोकारवालाको दिर्घकालिन सोच र योजना नभएका कारण प्रयोगशाला बन्द गरेर महत्वपूर्ण उपकरण खिया लाग्ने स्थिति आएको आरोप लगाउनु भयो ।

अन्य

भिडियो