INSEC Online

📅 २०८३ जेष्ठ २१

सहायक वन अधिकृतमाथि मोसो दलेर दुर्व्यवहार, घटनाका आरोपितविरुद्ध उजुरी

पचमुडीया सवडिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितमाथि सात जना अपरिचित व्यक्तिहरूको समूहले मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा पीडितले माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता बताउने व्यक्तिहरु माघ १७ गते कार्यालयमा आएर मोसो दलेर दुर्व्यवहार गरेकोले सुरक्षाको माग राखेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको सहायक वन अधिकृत पण्डितले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

सामुदायिक वनबाट चन्दा असुली गरेको समाचार सार्वजनिक गर्ने भन्दै उनीहरूले धम्की दिएकोसमेत पीडित पण्डितले बताउनु भयो ।

पीडितले घटनामा संलग्न व्यक्तिहरूलाई चिन्न नसकेको भएपनि घटना हुँदाका बखत घटनामा संलग्न व्यक्तिहरूले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएको बताएका आधारमा पीडितको उजुरी दर्ता गरेर घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताउनु भयो ।

नेत्रविक्रम चन्द नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ला सचिव दिपेन्द्र चलाउनेले सहायक वन अधिकृत पण्डितमाथि पार्टीका कार्यकर्ताहरूले मोसो नदलेको र उक्त घटनाको जिम्मेवारी पार्टीले लिन नसक्ने इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

अन्य

भिडियो