INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ११ गते)

माघ ११ गते ९ हजार ४ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ११ गते परीक्षण गरिएकामध्ये ५२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १८ हजार १ सय ३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख २७ हजार २ सय ७९ जना निको भएका छन् । माघ ११ गते ३ हजार ४० जना निको भएका छन् भने निको हुनेको दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ११ गतेसम्म ११ हजार ६ सय ६७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ११ गते आठ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९ सय ३४ रहेको छ ।

मन्त्रालयका अनुसार माघ ११ गते ७ हजार ८ सय ६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ हजार ५ सय ६७ जनालाई कोभिड पुष्टि भएको छ । माघ ११ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख १७ हजार ७ सय ५४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ११ गतेसम्म १ करोड ३१ लाख ६ हजार ७ सय २६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-10-11

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरिएको छ । माघ ११ गते प्रशासन कार्यालयले सूचना जारी गर्दै माघ १२ गतेदेखि लागु हुने गरि १८ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताउनु भएको छ ।

जारी गरिएको सूचनामा नयाँ नागरिकता/नागरिकता प्रतिलिपी/नाबालक परिचयपत्र सम्बन्धी कार्य, राहदानी वितरण, दु्रत सिफारिश तथा राहदानी प्रयोजनको लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य, सङ्घ/संस्था दर्ता, नविकरण तथा सङ्घ/संस्था सम्बन्धी अन्य कार्यहरू, पेन्सन सम्बन्धी कार्य, हातहतियार नविकरण तथा विष्फोक पदार्थ अनुमतिपत्र सम्बन्धी कार्य, अन्य प्रमाणित तथा सिफारिस लगायतका सेवा बन्द गरिएको छ । शान्ति सुरक्षासम्बन्धी कार्य, मुद्दा सम्बन्धी कार्य, विपद् तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य, अत्यावश्यक आन्तरिक प्रशासनिक कार्य भने सुचारू रहने जारी सूचनामा उल्लेख छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार हल्दीबारी गाउँपालिका वडा–१ ले माघ ११ गतेदेखि आफ्नो भूगोलमा लकडाउन गरेको छ । वडा–१ स्थित गोलधाप बजारमा रहेको जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित स्थानीय २१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि माघ ११ गतेदेखि लागू हुने गरी लकडाउन घोषणा गरिएको वडाध्यक्ष त्रिलोचन सापकोटाले बताउनु भएको  छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोभिड–१९ को तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा लक्षित जनसङ्ख्याको ५६ प्रतिशत नागरिकको कोभिड–१९ विरुद्धको खोप पाउन सकेका छैनन् । हालसम्म मधेश प्रदेशका लक्षित जनसङ्ख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन् । मधेश प्रदेशमा १२ वर्षदेखि माथिका ४४.२ प्रतिशत नागरिकले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ । तथ्याङ्क अनुसार सर्लाहीमा ५५.५, बारामा ४९.४, धनुषामा ४९.१, पर्सामा ४३.८, सप्तरीमा ४२.७, सिरहामा ४०.७, महोत्तरीमा ३५.४ र रौतहटमा ३४.७ प्रतिशत लक्षित नागरिकले कोभिड–१९ विरुद्धको खोपको पूर्ण डोज लगाएका हुन् । त्यसैगरी नेपाल सरकारले अग्रपङ्क्तिमा खटिनेलाई बुस्टोर डोज दिन सुरु गरेकामा करिब ११ हजारले बुस्टर डोज लगाएका छन् ।

सिन्धुली प्रतिनिधि नविनबावु अधिकारीका अनुसार माघ १० गतेदेखि जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि कार्यालयले प्रवाह गर्ने सवै सेवा बन्द गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले आपतकालिन बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिनुभएको हो । कार्यालयका बिभिन्न शाखाका कर्मचारीहरूमा कोभिड १९ को सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीहरूमा समेत कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेकोले सेवा प्रवाह गर्न कठिन भएको र सेवाग्रही एवम् कर्मचारीहरूमा समेत संक्रमण हुन सक्ने जोखिम देखिएकोले कार्यालयबाट प्रदान गर्ने सेवाहरू बन्द भएको सिटौलाले जानकारी दिनु भयो ।

रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्ला प्रशासन कार्यालयका अधिकांश कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका  सेवा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत माघ ११ गतेबाट कार्यालयका अत्यावश्यक बाहेका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो । जिल्ला प्रशासन कार्यालयले माघ १० गते एक विज्ञप्ति जारी गरी कार्यालयका प्रायःजसो कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोभिड–१९ सङ्क्रमणका कारण ०७८ माघ ११ गतेदेखि जिल्लाका तीन ओटा गाउँपालिकाले अत्यावस्यक बाहेकका सेवा बन्द गरेका छन् । खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण नेपालीले जारी गर्नु भएको सूचनामा सबै वडा कार्यालय र गाउँपालिका कार्यालय समेत अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरेको उल्लेख गर्नुभएको छ । रुबीभ्याली गाउँपलिकाले पनि सूचना जारी गर्दै अत्यावश्यक सेवा बन्द गरेको जनाएको छ । अत्यावस्यक सेवा भने सञ्चालन गरिने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ध्रुब कुमार राइले बताउनुभयो । यसैगरी गंगाजमुना गाउँपालिकाले पालिकाबाट उपलब्ध हुने सेवा बन्द गर्दै अत्यावस्यक सेवा सञ्चालन हुने जनाएको छ । कोभिड महामारी बढेको, कर्मचारीमा कोभिड–१९ ओमिक्रोन भेरियन्ट जस्तै लक्षण देखिएकोले नागरिकहरूलाई जनस्वास्थ्यमा ध्यान दिनका लागि आह्वान गर्दै सेवाहरू बन्द गराएको जनाएको छ । यसैबीच, थाक्रे गाउँपालिका, सिद्धलेक गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाले नियमित रूपमा खोप सेवा सञ्चालन गरिरहेको जनाएका छन् ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार निषेध आदेशमा पठन पाठन सञ्चालन गरेको भन्दै जनज्योति मावि फलेवास ८ ठानामौलाका सहायक प्रधानाध्यापक फलेवास नगरपालिका– ५ का ३७ वर्षीय विकास शर्मालाई अस्थायी प्रहरी क्रपोष्ट खानीगाउँले विद्यालय परिसरबाटै माघ ११ गते गिरफ्तार गरेको छ । सङ्क्रमण बढ्दै गएपछि पर्बत प्रशासनले माघ ५ देखि १५ गतेसम्म पुर्णरूपमा बन्द गर्ने सूचीमा विद्यालय पनि समावेश थियो । सोही निषेध आदेश उल्लङघन गरेको भन्दै उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर प्रदिप पौडेलले जानकारी दिनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिका–३ को वडा कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको भन्दै वडाध्यक्ष लक्ष्मी बास्कोटाले माघ १२ गतेदेखि अर्को सूचना जारी नभएसम्म कार्यालयले प्रदान गर्ने अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी दिनुभएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भटटराईका अनुसार व्यास नगरपालिका–१० स्थित व्यास नगरपालिकाको पिसिआर परीक्षण प्रयोगशालाका स्वास्थ्यकर्मीलाई कोभिड–१९ सङ्क्रमण भएपछि पिसिआर परीक्षण कार्य बन्द भएको छ । उक्त प्रयोगशालाका चार मध्ये तीन जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि माघ ११ गतेदेखि पिसिआर परीक्षण कार्य बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताउनुभयो ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार कार्यालयका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण भएपछि मालपोत कार्यालय गुल्मीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयका कार्यरत कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि माघ १७ गतेसम्मको लागि सेवा बन्द गरिएको हो । त्यस्तै रेसुङ्गा नगरपालिका-४ कार्यालयले पनि एक साताको लागि सबै सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारीलाई सङ्क्रमण भएपछि आजबाटै सेवा प्रवाह बन्द गरिएको वडाध्यक्ष विजयकुमार मरासिनीले जानकारी दिनु भयो । जिल्ला प्रशासन कार्यालय गुल्मीले माघ १० गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्ला प्रशासन कार्यलय बर्दियाका अधिकांश कर्मचारीमा कोभिड सङ्क्रमण भएपछि कार्यालयद्वारा दिइने शान्ति सुरक्षा बाहेकका सेवाहरू माघ १५ गतेसम्म स्थगित गरिएको सूचना प्रकाशन गरी जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यरत २४ जनामध्ये १८ जनामा कोभिड पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले माघ १० गते सूचना जारी गर्दै माघ १५ गते सम्मका लागि सेवा स्थगित भएको जानकारी गराउनु भएको हो ।

बैतडी प्रतिनिधि नरी वडुका अनुसार मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोभिड पुष्टि भएपछि आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवाहरु बन्द गरिएको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताउनु भयो । हालसम्म जिल्लामा १९ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको र समुदायस्तरमा कोभिड सङ्क्रमरण फैलिदै गएको भएपनि त्यसको रोकथाम र नियन्त्रणका पक्षमा स्थानीय स्तरबाट पहलकदमी समेत नभएको दयालले बताउनु भयो

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार धनगढी उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरुमा कोभिड सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएकोले सेवा लिन आउने व्यक्तिहरुमा समेत सङ्क्रमण फैलिन सक्ने जोखिम रहेकाले नगरपालिकाबाट प्रवाह गरिने अत्यावसश्यक सेवा (दमकल, सरसफाई, एम्बुलेन्स र स्वास्थ्य) बाहेकका सम्पूर्ण सेवा माघ १२ गतेदेखि माघ १८ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बताउनु भयो ।

बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार जिल्ला प्रशासन कार्यलय बाजुराका कर्मचारीलाई कोभिड सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यलय बाजुराले सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रशासन कार्यलयले सूचना जारी गर्दै माघ १२ गतेदेखि लागु हुने गरी अर्को सूचना जारी नहुँदा सम्मका लागि सेवा बन्द गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनु भयो ।

अन्य

भिडियो