३१ वर्षीया महिला माघ ७ गते सामूहिक बलात्कार घटनामा पीडित भएको विषयमा इन्सेक प्रदेश १, कार्यालयसहित अधिकारकर्मीको टोलीले माघ १० गते पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ ।
के थियो घटना-
सुनसरीको इटहरीबाट मोरङको गछियास्थित बहिनीको घरतर्फ गईरहेको अवस्थामा पीडित माघ ७ गते सुन्दरहरैँचा नगरपालिका–४ स्थित बलिया चोकमा सार्वजनिक यातायातबाट ओर्लनु भयो ।
बहिनीको घर बलिया चोक भएको र खोटाङबाट पहिलो पटक सुन्दरहरैँचा आएकाले पीडितले बलिया चोकमा पार्किङ्ग गरी राखेको प्रदेश २–०१–००१ च २२७ सवारी चालकलाई बहिनीको घरसम्म जाने बाटो सोध्नु भयो ।
पीडितलाई झापा घर भनिएका रामबहादुर नेपालीले आफूले बहिनीको घर पुर्याइ दिने भन्दै प्रदेश २–०१–००१ च २२७ गाडीमा बसाएर बेलवारी क्षेत्रको जङ्गलसम्म पुर्याएर पुन सुन्दरहरैँचा नगरपालिका–४ स्थित श्रेष्ठ होटल एण्ड फेमिली लजमा लिएर आए ।
खाजा खाएर बहिनी घरमा पुर्याइ दिने भन्दै रामबहादुरले रेडबुल खान दिए । रेडबुल खाएपछि अचेत हुनु भएकी पीडितलाई आरोपितहरू सुन्दररहैँचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन भनिने हिमबहादुर श्रेष्ठ र २५ वर्षीय सुरज भनिने मनोज श्रेष्ठ र चालक नेपालीले सोही होटलमा माघ ७ गते राति सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
अधिकारकर्मीद्धारा पीडितको अवस्थाका बारेमा जानकारी-
सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाका बारेमा अधिकारकर्मीहरूले माघ १० गते कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् ।
इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाको नेतृत्वमा अधिकारकर्मीहरूले अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका हुन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो ।

घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न नसक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताउनु भयो । पीडितलाई इन्सेकले ५ हजार रुपियाँ र अन्य संस्थाले गरी १५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ । पीडितको स्वास्थ्य अवस्थाका साथै पीडित परिवारसँग भेट गरी घटनाका विषयमा इन्सेकले जानकारी लिएको छ ।
अधिकारकर्मीको टोलीले सामूहिक बलात्कार घटना पीडित महिलाको स्वास्थ्य अवस्थाका बारेमा कोशी अस्पतालकी डाक्टर रीभा केसीसँग जानकारी लिएको छ । अधिकारकर्मीसँगको भेटमा डाक्टर केसीले पीडितको उपचार भएकाले अब आरामको आवश्यकता भएकाले माघ १० गते डिस्चार्ज गरिएको जानकारी गराउनु भएको छ ।
न्याय पाउनु पर्छ, पीडित पक्ष-
पीडितका ५९ वर्षीय बाबुले इन्सेककर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउने पर्ने बताउनु भएको छ । पीडितका बाबुले अधिकारकर्मीहरूसँग न्यायका लागि पहल गरीदिन आग्रह गर्नु भएको छ । पीडितकी २८ वर्षीया बहिनीले अधिकारकर्मीसँगको भेटमा प्रहरीले घटनाका विषयमा आवश्यक चासो नदिएको आरोप लगाउनु भएको छ ।
घटनाका विषयमा आफूले प्रहरीलाई जानकारी समयमा नै गराएको भएपनि प्रहरी घटनास्थलमा ढिलो आएको पीडितकी बहिनीको आरोप छ । प्रहरी समयमा नआउँदा घटनास्थलमा आरोपितहरूले धोइपखाली प्रमाण नष्ट गरेका कारण अनुसन्धान प्रभावित हुन सक्ने आशङ्का पीडितकी बहिनीले अधिकारकर्मीसँगको कुराकानीमा गर्नु भएको छ ।
पीडितले न्याय पाउँछ- प्रशासन
सामूहिक बलात्कार घटनामा पीडितलाई भेटेर घटनाको बारेमा जानकारी लिएपछि अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटर पीडितले न्याय पाउनु पर्ने विषयमा ध्यानाकर्षण गराएको छ ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई भेट गरी पीडितले न्याय पाउनु पर्ने विषयमा ध्यानाकर्षण गराएको इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले बताउनु भयो । अधिकारकर्मीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो “घटनालाई गम्भीर रूपमा लिएको छु । घटना सम्वेदनशील छ । शङ्का आशङ्का गर्नु पर्दैन पीडितले न्याय पाउँछ ।”
प्रहरीले कमजोरी गरे कारबाही-
जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले अनुसन्धानमा कमजोरी गरेको पाइए इलाका प्रहरी कार्यालय बेलवारीलाई कारबाही गरिने बताउनु भएको छ ।
पीडित पक्षले घटनाका बारेमा शङ्का, आशङ्का गरेको अवस्थामा डिएसपी मुकारुङले प्रहरीले अनुसन्धानमा कमजोरी नगर्ने बताउनु भएको छ । डिएसपी मुकारुङले भन्नुभयो “घटनामा संलग्न भएको आरोपमा दुई जना गिरफ्तारीमा छन्, अन्यको खोजी जारी छ । प्रहरीले पीडितलाई न्याय दिलाउँछ ।”
पीडित पक्षद्वारा प्रहरीमा किटानी, दुई जना गिरफ्तार-
पीडित पक्षले घटनामा संलग्न रहेको आरोपमा सुन्दररहैँचा नगरपालिका–४ का ३६ वर्षीय अर्जुन भनिने हिमबहादुर श्रेष्ठ, अर्जुनका भाइ २५ वर्षीय सुरज भनिने मनोज श्रेष्ठ र झापा घर भनिएका रामबहादुर नेपालीविरूद्ध माघ ९ गते इलाका प्रहरी कार्यालय बेलवारीमा किटानी उजुरी दिएको छ । पीडित पक्षले घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर सरोज खनालले पुष्टि गर्नु भएको छ । प्रहरीले अर्जुन भनिने हिमबहादुर श्रेष्ठ र अर्जुनका २५ वर्षीय भाइ सुरज भनिने मनोज श्रेष्ठलाई माघ ८ गते कोशी अस्पताल विराटनगरबाट गिरफ्तार गरेको छ ।