INSEC Online

📅 २०८३ जेष्ठ २१

अधिकांश स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्, स्वास्थ्यकर्मी अभावले स्वास्थ्य सेवा प्रभावित

पहिलो चरणको कोभिड–१९ सङ्क्रमणको कहरमा खटिएका स्वास्थ्यकर्मीहरूले अझैसम्म पनि जोखिम भत्ता नपाउँदा निरास भएका छन् । सरकारले दिने घोषणा गरेर काममा खटिएका अधिकांश स्वास्थ्यकर्मीहरूले जोखिम भत्ता नपाएको गुनासो छ ।

काम र जोखिमको अवस्था हेरी सरकारले स्वास्थ्यकर्मीको तलबको २५ प्रतिशतदेखि शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर धादिङका प्रायः सबै स्वास्थ्यकर्मीहरूले अझै पूर्ण रूपमा जोखिम भत्ता पाएका पाउन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

सरकारले जोखिम भत्ता दिने भने पनि हालसम्म जोखिम भत्ता नपाएको धादिङ अस्पतालका ल्याब टेक्निसियन गोविन्द भण्डारीले बताउनुभएको छ ।

तेश्रो चरणको महामारी फैलिएको अवस्थामा पहिलो पटक कोरोनामा काम गरेकाहरूले सरकारले दिने भनेको सुविधा नपाएपछि आफूहरू निरास भएको र निरन्तर जोखिम भत्ता उपलब्ध गराउन माग गरिरहेको धादिङ अस्पतालका स्वास्थ्यकर्मी विक्रम विकले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाका ७२ जना स्वास्थ्यकर्मी, धुनीवेशी नगरपालिकाका ४३ जना, ज्वालामुखी गाउँपालिकामा ४२ जना, थाक्रे गाउँपालिकाका ५७ जना, सिद्धलेक गाउँपालिकाका ३२ जना, रुवीभ्याली गाउँपालिकाका ३३ जना, गजुरी गाउँपालिकाका ४३ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ५५ जना, गंगाजमुना गाउँपालिकामा ५० जना, खनियाँवास गाउँपालिकाका १४ जना, स्वास्थ्य कार्यालय धादिङका १६ जना, धादिङ अस्पतालमा १ सय १५ जना लगायत कोरोना कहरमा काम गरेका स्वास्थ्यकर्मीहरूले पूर्ण रूपमा कसैले जोखिम भत्ता नपाएको बताएका छन् ।

जोखिम भत्ताको नाममा एक महिनाको तलब भत्ता दिएर टारेको धादिङमा कार्यरत स्वास्थ्यकर्मीहरूले गुनासो छ ।

यसैबीच ओमिक्रोन भेरियन्ट भनिएको कोरोनाको तेश्रो लहर महामारी चलेको बेला करारमा कार्यरत कर्मचारकिो म्याद थप नहुँदा धादिङ अस्पतालमा नियमित सेवा संचालनमा कठिनाइ आएको छ ।

कोभिड वार्ड, आइसोलेसन र आईसीयूमा काम गर्ने करारमा रहेका स्वास्थ्यकर्मीको म्याद पुसमा समाप्त भई स्वास्थ्यकर्मी निस्किएकाले समस्या भएको धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा. त्रिभुवन चन्द्र झाले बताउनुभयो ।

अस्पतालको समस्याबारे माथिल्ले निकायमा जानकारी गराइसकेको र यस बीचको समयमा कर्मचारी राख्न कुनै पनि बजेटको सुनिश्चितता बिरामीको सङख्या बढी रहेको अवस्थामा सिमित कर्मचारीबाट काम गर्न असहज भएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाको भनाइ छ ।

करार समय अवधिपछि पनि केही स्वास्थ्यकर्मीहरू भने स्वतःस्फुर्त रूपमा मानव सेवामा लागि रहेका प्रति डा. झाले धन्यवाद दिँदै महामारीमा स्वयंसेवको रूपमा सघाउन आग्रह गर्नुभएको छ । यसपछि केही स्वास्थ्यकर्मीले भने स्वयंसेवी रूपमा सहयोग समेत गरिरहेका छन् ।

धादिङ जिल्ला अस्पताल लगायत अहिले बागमती प्रदेशका अधिकांश अस्पतालहरूमा स्वास्थ्यकर्मी अभावको समस्या रहेको जनाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको अस्पताल भएकोले प्रदेश सरकारले निर्णय गर्न नसक्दा स्वास्थ्य सेवा समेत प्रभावित भएको छ ।

अन्य

भिडियो