सोलुखुम्बुमा पत्रकारलाई ०७८ मङ्सिर १४ गते समाचार सङ्कलनका क्रममा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घटनाका आरोपितलाई पुस २८ र २९ गते गिरफ्तार गरेको छ ।
मङ्सिर १४ गते सोलुखुम्बु कांग्रेस अधिवेशनको रिपोटिङका क्रममा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका उपाध्यक्ष माप्यदूधकोशी गाउँपालिका–४ का २८ वर्षीय जीवन बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि नेचासल्यान गाउँपालिका–२ का ३३ वर्षीय प्रदीप बस्नेत र नेपाल विद्यार्थी सङ्घ अध्यक्ष माप्यदूधकोशी गाउँपालिका–६ का २० वर्षीय विभुषण राईलाई गिरफ्तार गरेको छ ।
आरोपितहरूले रिपोटिङमा खटिएका सोलु एफएममा कार्यरत पत्रकार सोलुदूधकुण्ड नगरपालिका–३ का २६ वर्षीय पत्रकार सुवास दर्नाल र थुलुङदूधकोशी गाउँपालिका–४ का २० वर्षीय रमन वनमाथि मङ्सिर १४ गते आक्रमण गरेको पीडित पक्षको आरोप छ ।
घटनापछि पीडित पत्रकारले आरोपितविरूद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका उपाध्यक्ष माप्यदूधकोशी गाउँपालिका–४ का जीवन बस्नेतलाई घरबाटै गिरफ्तार गरेपछि अन्य दुई आरोपित पुस २९ गते प्रहरीको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।