गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले सबैको साथ सहयोगबाट नै नागरिकको स्वास्थ्य सुरक्षा गर्न सकिने बताउनुभएको छ ।
ओमिक्रोनको प्रकोप बढ्दै गएपछि नागरिक स्वास्थ्य सुरक्षाको र आवश्यक तयारीका सन्दर्भमा शान्तिका लागि नागरिक समाजको सञ्जालले पुस २८ गते ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सबै जिल्लामा आइसोलेशन र भेन्टिलेटर तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

मन्त्री अधिकारीले अस्पतालमा सबै स्वास्थ्य उपकरण उपलब्ध भएपनि त्यसलाई चलाउन दक्ष जनशक्तिको अभाव रहेको बताउनुभयो ।
तीन ओटा नाकाबाट गण्डकी प्रदेश प्रवेश हुने हुँदा तीन ओटै नाकामा निगरानी कक्ष स्थापना गरेर स्वास्थ्यकर्मी र अनमीको व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।
आबुखैरेनी र राम्दी नाकामा आइसोलेशन सेण्टर स्थापनाको तयारी गरिएको उहाँको भनाई थियो ।
प्रदेश सरकारले खोप कार्ड बिना एक जिल्ला बाट अर्को जिल्ला जान नपाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
मानवअधिकार एलाइन्स कास्की अध्यक्ष रामचन्द्र पौडेलले खोप नलगाएकाले पनि खोप कार्ड लिएर दुरुपयोग बढेको भन्दै त्यसतर्फ सचेत बन्न आग्रह गर्नुभयो।
शान्तिका लागि नागरिक समाजको सञ्जाल सयोजक बिना सिलवाल कोभिडपछि अस्पतालमा मनोविमर्शकर्ता राख्नुपर्ने सर्वोच्च अदालतको आदेश अनुरुप व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।
नीजि अस्पतालमा पनि अनिवार्य रुपमा मनोविमर्शकर्ता राख्नका लागि पहल गर्न आग्रह गर्नुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कोभिड बिरामीसँग नीजि अस्पतालले चर्को शुल्क लिने गरेको भन्दै त्यसतर्फ अनुगमन गर्न आग्रह गर्नुभयो ।
सबै प्रकारका आपूर्ति जन्य दैनिक उपभोग्य वस्तुको अभाव हुन नदि , सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन, प्रदेश भरकिा नागरिकलाई खोपको उपलब्ध गरिनुपर्ने, स्वाब परीक्षणलाई बढाउदै स्थानीय तहमा आवश्यक क्वारेण्टाइनको व्यवस्थापन गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।


