सुनसरीका विभिन्न स्थानीय तहमा विद्यार्थीको अनुपातमा शिक्षक अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीले जनाएको छ ।
१२ ओटा स्थानीय तहका १ सय २४ ओटा वडामा रहेका ३ सय ८४ सामुदायिक विद्यालयमा कुल २ हजार ७ सय १८ जना शिक्षक मात्र कार्यरत रहेको समन्वय इकाइले जनाएको छ ।
शिक्षक सङ्ख्याका आधारमा प्रति शिक्षकलाई ८९ जना विद्यार्थी पढाउनुपर्ने अवस्था रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रमेशबहादुर दहालले बताउनु भयो ।
जिल्लामा सामुदायिक विद्यालयमा १ लाख ११ हजार १ सय ४६ जना छात्रा र १ लाख २१ हजार ७ सय ९६ छात्र गरी २ लाख ३२ हजार ९ सय ३२ जना विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कमा उल्लेख छ ।
आधारभूत तहका विद्यालयका लागि १ हजार ६ सय ८५ जना, निम्न माध्यमिक तहका लागि ५ सय ५९ जना, माध्यमिक तहका लागि ३ सय ९९ जना र ११, १२ कक्षाका लागि ८५ जना शिक्षक रहेका छन् ।
विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक अभाव भएपनि आधारभूत तहमा भने विद्यार्थी भन्दा शिक्षक बढी रहेका छन् । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म विद्यार्थीको सङ्ख्या न्यून छ । संस्थागत विद्यालयमा भने कक्षा ५ सम्म विद्यार्थीको सङ्ख्या बढेको पाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दहालको भनाइ छ ।
कोशी गाउँपालिकामा पाँच ओटा मावि विद्यालयमा सात जना मात्रै माविको दरबन्दीका शिक्षक कार्यरत रहेको समन्वय इकाइको तथ्याङ्कमा उल्लेख छ । कोशीमा विद्यार्थीको अनुपात माविमा समेत शिक्षकको अभाव रहेको शिक्षा शाखाका प्रमुख वेदराज अधिकारीले बताउनु भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकामा चार ओटा माविमा ६ जना मात्रै मावि दरबन्दी रहेको र त्यसमा तीन जना मात्र शिक्षक कार्यरत रहेको भोक्राहा नरसिंह गाउँपालिका शिक्षा शाखाका प्रमुख रमेशचन्द्र तिम्ल्सिनाले जानकारी दिनुभयो । भोक्राहाको जनता मावि र पृथ्वीनारायण माविमा भने माविको दरबन्दी नरहेको शिक्षा शाखा प्रमुख तिम्ल्सिनाको भनाइ छ ।
इनरूवा नगरपालिकामा आठ ओटा मावि रहेकोमा २५ जना मात्रै मावि दरबन्दीका शिक्षक कार्यरत छन् । यहाँका आधारभूत तहमा विद्यार्थी सङ्ख्या मुस्लिकले २५ देखि ५० जनासम्म छन् । माविमा भने एउटै कक्षामा ६० देखि १ सय २० जना विद्यार्थी रहेको इनरूवा शिक्षा शाखाले जनाएको छ । गढी गाउँपालिकामा आधारभूत तहमा विद्यार्थी कम, शिक्षक बढी र मावि तहमा विद्यार्थी बढी शिक्षक कम रहेको अवस्था रहेको शिक्षा शाखा प्रमुख छवी खड्काले बताउनु भयो ।
हरिनगर गाउँपालिकामा चार ओटा मावि रहेकोमा १४ जना मात्रै माविको दरबन्दीका शिक्षक कार्यरत रहेको शिक्षा शाखाका अजितकुमार मल्लिकले बताउनु भएको छ । यस गाउँपालिकामा पनि मावि तहका विद्यार्थीको अनुपातमा विषयगत शिक्षकको अभाव रहेको छ । त्यसैगरी कक्षा ११ र १२ पढाई हुने मावि तहमा ८५ जना मात्रै दरबन्दी रहेको छ ।