घरेलुहिंसा पीडित सिमकोट गाउँपालिका–७ चौगानफयाकी ३० वर्षीया जौमती शाहीलाई इन्सेकले पुनर्स्थापना गरेको छ ।
पीडित शाही र उहाँका पति ३८ वर्षीय भविन्द्र शाहीबीच ०७७ माघ १० गतेदेखि भएको घरेलु हिंसाको घटनामा विभिन्न चरणमा गरिएको छलफलपछि ०७८ पुस १५ गते समस्या समाधान गरिएको हो ।
आफू र छोराछोरीलाई कुटपिट गरेर खान, लगाउन र राम्रोसँग हेरचाह नगरेको भन्दै ०७८ पुस ७ गते गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको बताउनुभयो । ७ गतेदेखि पीडित पुस १५ गतेसम्म सिमकोट गाउँपालिकाको अल्पकालिन सेवा केन्द्रमा बस्नु भएको थियो ।
गाउँपालिकाले पटक पटक छलफल गर्दा पनि मिलापत्र गर्न नसकेपछि सो घटनामा न्यायका लागि पहल गरि दिन पीडितले पुस १२ गते इन्सेक प्रतिनिधिलाई लिखित रूपमा अनुरोध गर्नुभयो ।
सोही दिन इन्सेकले उक्त घटनामा छलफलमार्फत न्याय दिलाउन पहल गरियोस भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो ।
इन्सेकको उजुरीका आधारमा प्रहरीले इन्सेक प्रतिनिधिको रोहबरमा आरोपित भविन्द्र शाही र पत्नी जौमती तथा दुवै पक्षका आफन्तसमेतलाई पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा छलफल गराएको थियो ।
छलफलपछि आरोपित भविन्द्रले अबदेखि पत्नीलाई राम्रो व्यवहार गर्ने भन्दै माफि मागेपछि पीडित घरमा पुनर्स्थापना भएको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी इन्चार्ज मिनु आलेले बताउनुभयो ।