ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा अध्ययनरत १ सय १९ जना विद्यार्थीहरूमध्ये ५९ जनालाई इन्सेक जिल्ला प्रतिनिधिको पहलमा पुस १८ गते विद्यालय पोशाक प्रदान गरिएको छ ।
इन्सेक प्रतिनिधि दीपकप्रसाद घिमिरेको पहलमा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरले विद्यालय पोशाक निःशुल्क उपलब्ध गराएको हो ।
नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरका अध्यक्ष पूर्ण महर्जनले विद्यार्थीलाई पोशाक वितरणको पहल गरी सेवा गर्न मौका दिएकोमा इन्सेक ललितपुर जिल्ला प्रतिनिधि घिमिरेलाई आभार प्रकट
गर्नु भएको छ ।
सङ्घले सदस्य व्यवसायीहरूसँग कपडा सङ्कलन गरी सर्ट र पाइन्ट सिलाएर प्रत्येक विद्यार्थीलाई एक/एक जोर प्रदान गरेको विद्यालयका प्रधानाध्यापक विद्या खड्काले जानकारी दिनु भयो ।
निःशुल्क पोशाक वितरण कार्यक्रममा ललितपुर महानगरपालिका–२४ का सदस्य इन्द्रा श्रीस रानाले महानगर क्षेत्रमा भए पनि बालोदय आधारभूत विद्यालयमा घरेलु श्रमिक, दैनिक ज्याला गर्ने मजदूर, इट्टाभट्टामा काम गर्ने श्रमिकहरूका बालबालिका पढ्ने गरेको जानकारी दिनुभयो ।
रानाले बालबालिकाहरूलाई विद्यालय पोशाकमा एकरुपता ल्याउन सहयोगी हातको खाँचो रहेको उल्लेख गर्दै बालबालिकाको विद्यालय पोशाक लाउन पाउने अधिकार सुनिश्चित गरेकोमा इन्सेक र नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
पहिलो चरणको कपडा वितरण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ, ललितपुरका प्रतिनिधिहरू र इन्सेक प्रतिनिधिको सहभागिता रहेको थियो ।
कोभिड १९ महामारीका कारण व्यवसायमा असहजता भए पनि सो विद्यालयमा पोशाकको एकरुपता नभएको असाय विपन्न वर्गका बालबालिका पढ्ने विद्यालयका विद्यार्थीहरूको समस्या बारेका इन्सेक प्रतिनिधि मार्फत जानकारी आएपछि पहिलो चरणमा ५९ सेट पोशाक विद्यार्थीलाई सहयोग गरिएको सङ्घका सचिव समिल प्रजापतिले जाकारी दिनुभयो ।
सङ्घले थप विद्यार्थीका लागि पनि कपडा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

