आयुर्वेद स्वास्थ्य केन्द्रमा कर्मचारी परिचालन, व्यवस्थापन र सेवा प्रवाहको अवस्था अस्तव्यस्त हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
कार्यालय प्रमुख देवेन्द्र ठाकुर दशैंमा घर गएर दुई महिना बिना जानकारी बाहिर बसेपछि सम्पूर्ण काम–काजसमेत प्रभावित भएको स्वास्थ्य केन्द्रका कर्मचारी बताउँछन् ।
कार्यालय प्रमुखले अन्य कर्मचारीलाई जिम्मेवारी पनि नदिने र आफूले पनि नगरेकोले केन्द्रमा औषधिसमेत नभएको डाक्टर प्रतिभा शर्माले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
उहाँका अनुसार पाँच महिनाको तलब सेवा सुविधा बाहेक अन्य पुँजीगत खर्चको काम केही पनि हुन सकेको छैन् । व्यवस्थापनको कमजोरीले कार्यालयको मर्मत, डिपिआर निर्माण, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम नभएको उहाँको भनाइ छ ।
केन्द्रमा ग्याष्ट्रिक, पायल्स, बाथ रोग, रागन र नसासम्बन्धी रोगको उपचार हुँदै आएको भएपनि औषधि नहुँदा हाल कुनै पनि सेवा नपाइएको सेवाग्राही राजुशरण न्यौपानेले बताउनुभयो ।
उहाँका अनसार आयुर्वेदसम्बन्धी अस्पताल सञ्चालनका लागि स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएको भएपनि त्यसको सहि रूपमा व्यवस्थापन हुन सकेको छैन ।
कार्यालय प्रमुख ठाकुरले आफू बिरामी भएर घर बसेको र निमित्तको जिम्मेवारी आयुर्वेद स्वास्थ्य केन्द्रका बैद्य गोरबहादर रावतलाई दिएको बताउनु भयो ।
तर, वैद्य रावतले भने कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको र जसका कारण काम प्रभावित भएको आरोप लगाउनुभयो । केन्द्रमा दैनिक १० देखि १५ जना आउने सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकिएको उहाँको भनाइ छ ।

२ लाख रुपियाँ बेरूजु
गतवर्ष जनस्वास्थ्य कार्यालयसँग गाभिएको आयुर्वेद स्वास्थ्य केन्द्र हाल छुट्टै संरचना बनेको छ । गत वर्षकै करिब २ लाख रूपियाँ प्रमुख ठाकुरको नाममा बेरूजु रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार ठाकुरले २ लाख रुपियाँको जडिबुटी खरिद नगरेको देखिएको छ ।
ठाकुरको कामप्रति कर्णाली सरकार पनि असन्तुष्ट रहेको कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालय अन्तर्गत चिकित्सा शाखा प्रमुख लक्ष्मीनारायण तिवारीले बताउनुभयो । समस्या समाधानका लागि पहल थालिएकोसमेत उहाँले बताउनु भएको छ ।