शारदा नगरपालिका–९ बागचौरमा रहेको कृष्ण आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाले चिसोको समयमा पठन पाठन प्रभावित भएको बताएका छन् ।
‘झ्याल ढोकाका पल्ला छैनन्, कक्षा कोठामा बेन्च, डेस्क छैनन्’ कक्षा ४ मा अध्यनरत छात्र मोहन कवरले भन्नुभयो ।
चिसो मौसममासमेत एकसरो कार्पेटमा दिनभर बसेर पढ्नु पर्ने बाध्यता भएको उहाँको भनाइ छ । कवरले थप्नुभयो ‘सरहरूले भित्र बसेर पढ भन्नुहुन्छ, हाम्रो ध्यान घाम ताप्नेमा हुन्छ ।’ उहाँ लगायत कक्षा ८ सम्मका झण्डै दुई सय बिद्यार्थीको पठन पाठन प्रभावित भएको छ ।
पाँच वटा भवन रहेको यस विद्यालयमा ४ वटा भवन नाजुक अवस्थामा रहेका छन् । गत वर्ष शिक्षा कार्यालयद्वारा निर्मित भवनको अवस्था मात्र राम्रो रहेको विद्यालयले जनाएको छ । अन्य भवन जीर्ण हुँदा कार्यालय व्यवस्थापनदेखि विद्यार्थीहरूको बसाई समेत व्यवस्थित गर्न नसकेको विद्यालयका निमित्त प्रधानाध्यापक चिनबहादुर बुढाथोकीले बताउनुभयो ।
‘२०३७ सालमा स्थापना भएको विद्यालयमा पर्याप्त बेन्च, डेस्क नहुँदा कक्षा ४ र ५ का विद्यार्थीहरूलाई एउटा कार्पेटको भरमा पढाउन बाध्य छौं, बाहिर चौरमा बसेर पढाउने पनि वातावरण छैन’ प्रअ बुढाथोकीको भनाइ छ ।
विद्यालय परिसरमा तारबार नहुँदा खुल्ला रूपमा मानिसहरूको आवत जावत भइरहने र गाइ तथा कुखुरासमेत विद्यालय हाताभित्र आएर अवरोध गर्ने गरेको शिक्षकहरू बताउँछन् ।
विद्यालयमा भएका संरचनागत सुधारको लागि वडा कार्यालय एवम् नगरपालिकामा माग गर्दा पनि चासो नदिएको विद्यालयको गुनासो छ । विद्यालयमा तीन जना शिक्षक दरबन्दीमा, एक जना राहतमा र बाँकी निजि स्रोतबाट शिक्षक राखिएको छ ।
शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले सम्बन्धित विद्यालयलाई असार महिनामै विद्यालय मर्मत भनेर चार लाख रकम विनियोजन गरेपनि व्यवस्थापन समिति सक्रिय नहुँदा काम अगाडि बढाउन नसकिएको बताउनु भएको छ ।
विद्यालयको अवस्थाबारे जानकारी पाएपछि आवश्यक रकम विनियोजन गरेको र तत्काल काम सञ्चालन गर्न निर्देशन दिएको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
