फिदिम नगरपालिका‒२ की ११ वर्षीया बालिका इभा लामालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बाबु विजय लामालाई पुस ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पैसा चोरी गरेको आरोपमा पुस ९ गते बाँसको भाटाले कुटपिट गरी देब्रे गोडाको हड्डी फुटाइ दिएको पूर्व इन्सेक प्रतिनिधि मङ्गल वेघाले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले कुटपिट गरेको विषयमा छिमेकीले प्रहरीलाई खबर गरेपछि बालिकाको उद्दार गरेर उपचारका लागि पुस ९ गते जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।
कुटपिटबाट शरीर भरी निलडाम भएर घाइते अवस्थामा भर्ना भएकी बालिकाको देब्रे गोडामा समस्या भएको विषयमा इन्सेक पूर्व प्रतिनिधि वेघाले जिल्ला अस्पतालका डाक्टर वरूण अग्रवालसँग समन्वय गरेपछि पीडितको गोडाको उपचार सुरू गरिएको छ ।
घटनाका आरोपितविरूद्ध छिमेकीले प्रहरीलाई दिएको मौखिक सूचनालाई आधारमा मानि प्रहरीले आरोपितविरूद्ध घरेलु हिंसा शीर्षकमा उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डम्वर विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
बाबु आमाको डिभोर्सपछि बाबुसँग बस्दै आएकी बालिकालाई बाबुले यसअघि पनि कुटपिट गरेको इन्स्पेक्टर विश्वकर्माले बताउनु भयो ।
आरोपितलाई पुस ९ गते गिरफ्तार गरिएको भएपनि पीडित बालिकाको उपचारका लागि बाबु खटिनु पर्ने भएकाले आरोपितलाई प्रहरी कार्यालयमा हाजिर हुने गरी रिहा गरिएको इन्स्पेक्टर विश्वकर्माले बताउनु भएको छ ।



