INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार संस्कृतिको विकासकालागि सरकार र नागरिक समाजसँगै हुनु पर्नेमा जोड

मानव अधिकार संस्कृतिको विकासकालागि सरकार र नागरिक समाजसँगै हुनुपर्नेमा जोड दिइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशले पुस ८ र ९ गते बुटवलमा आयोजना गरेको नागरिक समाजको कार्यक्षेत्र र मानव अधिकार रक्षकहरूको अधिकार विषयक प्रदेश स्तरीय मानव अधिकार रक्षक भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले उक्त कुरा बताउनु भएका हो ।

मन्त्री घर्तीले मानव अधिकार रक्षाका निम्ति इन्सेकले लामो समयदेखि कामगर्दै आइरहेको बताउदै मानव अधिकारको संरक्षणकालागि सरकार एक्लैले गर्न नसक्ने भएकोले सरकार र नागरिक समाजका सबै  अगाडि बढनु पर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदीले मानव अधिकारको भूमिका समय अनुसार फरक हुने भएकोले मानव अधिकार रक्षकहरूको भूमिका पनि सोही अनुसार निरन्तर हुनु पर्ने बताउनु भयो ।

इन्सेक कार्य समिति सदस्य शोभाखर बुढाथोकीले संविधानले व्यवस्था गरेका कानुन कार्यान्वयन हुन नसक्दा समस्या भएको बताउदै कार्यान्वयनको पक्ष कमजोर हुँदा मानव अधिकारको अवस्था सन्तोष जनक नभएको बताउनु भयो ।

कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य अधिवक्ता महेन्द्र पाण्डेले मानव अधिकारको लडाई कहिल्यै नटुंगिने भएकोले यस विषयमा सधै सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो ।

कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य तीर्थ ज्ञवालीले मानव अधिकारको क्षेत्र वृहत भएकोले यसको कार्यान्वयनकालागि राज्य मुख्य जिम्मेवार भएपनि सबै क्षेत्र सक्रिय हुनुपर्ने बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, बुटवलका प्रमुख सन्तोष आचार्यले मानव अधिकारकर्मीहरूले आफ्नो अधिकारसँगै अरूको अधिकारको विषयमा बोल्ने भएकाले आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार प्राप्तिको संरक्षण गरेर काम गर्नुपर्ने बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले प्रदेशमा मानव अधिकार कानुन निर्माण गर्न सके मानव अधिकार रक्षकहरूको संरक्षण, सम्बद्र्यन र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका १२ ओटै जिल्लाबाट  ६० जनाको सहभागिता रहेको थियो ।

 

अन्य

भिडियो