INSEC Online

📅 २०८३ जेष्ठ २१

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समितिमा पुग्यो गङ्गामायाको मुद्दा

सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही पक्ष माओादीले छोरा कृष्णप्रसाद अधिकारीको हत्या गरेको घटनाका आरोपितलाई कानुनी दायरमा ल्याउनु पर्ने माग राख्दै पटक/पटक अनशनमा बसेकी गङ्गामाया अधिकारीले नेपालमा न्याय नपाएको भन्दै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समिति समक्ष उजुरी दिनुभएको छ ।

उहाँले आफ्नो छोराको हत्याको घटनामा प्रमाण जुटाउन प्रहरीले अग्रसरता नदेखाएको, प्रभावकारी अनुसन्धान नगरेको, घटनाबारे बुझ्नुपर्ने व्यक्तिलाई नबुझेको जस्ता कारण देखाउँदै पुनः अनुसन्धान गर्नुपर्ने माग सहित छानबिन गर्न कानुन व्यवसायीको पहलमा संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समिति समक्ष उजुरी दिनुभएको हो ।

कृष्णप्रसाद अधिकारीको घटनामा गङ्गामायाको तर्फबाट कानुनी सहायता प्रदान गर्दै आइरहेको संस्था एड्भोकेसी फोरमले मङ्सिर १३ गते संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समितिलाई प्रतिउत्तर दिँदै तीनै जना न्यायबाट वञ्चित भएको स्पष्ट पारेको छ ।

गङ्गामायाले आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको मुद्दामा नेपालमै छानबिन गर्न र न्याय दिलाउन राज्य पक्षबाट झुठा आश्वाशन र ढिलासुस्ती मात्र पाइरहेको बताउँदै उक्त मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा लैजान आग्रह गरेपछि सो मुद्दामा आफ्नो संस्थाले आफूहरूले कानुनी सहयोग गरेको एड्भोकेसी फोरमका अधिवक्ता पुष्पराज पौडेलले बताउनु भयो ।

गङ्गामायाको उजुरी एड्भोकेसी नेपालको तर्फबाट भदौ २९ मा उक्त मुद्दा संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समिति समक्ष पेस गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार समितिको तर्फबाट गङ्गामायाको निवेदन प्राप्त भएको जानकारी दिँदै गङ्गामायाको हकमा मात्रै हो कि मृत्यु भइसकेका नन्दप्रसाद र कृष्णप्रसादको हकमा पनि हो भनेर प्रश्न गरिएको हुँदा तीनै जनाको हकमा भएको जानकारी पठाएको अधिवक्ता पौडेलले बताउनु भयो ।

उहाँका अनुसार समितिले अब नेपाल सरकारलाई १ सय ८० दिनको समय दिएर जवाफ माग गर्ने प्रकृयामा जानेछ ।

गोरखा जिल्लाको फुजेलका कृष्णप्रसाद अधिकारी हजुरबुबा भेट्न चितवन झरेका बेला २०६१ साल जेठ २४ गते चितवनको रत्ननगर नगरपालिकाको बकुलहर चोकमा तत्कालिन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए ।

माओवादीका कार्यकर्ताले कृष्णप्रसादलाई राज्यको सुराकी गरेको भन्दै हत्या गरेको गङ्गामायाको आरोप छ ।

छोराको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै गङ्गामाया र उनका श्रीमान् नन्दप्रसाद अधिकारी २०७० साउन २८ देखि आमरण अनशन बसेका थिए ।

न्याय प्राप्तिको लागि अनशनकै क्रममा नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला नेतृत्वको सरकारले गङ्गामायासँग कृष्णप्रसादको हत्याको विषयमा छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने, परिवारलाई राहत दिने लगायत पाँचबुँदे सम्झौता गरेको थियो ।

सम्झौता बमोजिम राज्यले आफ्नो छोराको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा नल्याएको भन्दै अनशनलाई निरन्तरता दिँदै आएकी गङ्गामाया हाल वीर अस्पतालमा अनशनरत हुनुहुन्छ ।

कृष्णप्रसादको हत्या अभियोगमा २०७० चैत ३० मा १३ जना विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो तर जिल्ला अदालत चितवनले २०७५ भदौ २४ मा फैसला गर्दै अभियुक्त मध्येका १२ जनालाई सफाई दियो भने रुद्र आचार्य देशबाहिर रहेकाले उनको हकमा मुद्दा मुल्तबीमा राख्ने निर्णय गर्यो ।

उक्त फैसला चित्त नबुझेको भन्दै गङ्गामाया र कानुन व्यवसायीले फैसला बदरको माग राख्दै उच्च अदालत हेटौँडामा निवेदन दिएका थिए ।

निवेदकको माग बमोजिम फैसला बदर गर्नुपर्ने कारण नरहेको उल्लेख गर्दैपछि पाटन उच्च अदालतको हेटौँडा इजलासले पनि जिल्ला अदालत चितवनकै फैसलालाई सदर गरेको थियो ।

अन्य

भिडियो