मुगुम कार्मारोङ गाउँपालिका—३ ताखास्थित नेपाल राष्ट्रिय आवासिय विद्यालयका दुई सय ५० जना भन्दा बढी विद्यार्थीहरू आगो तापेर पढ्न बाध्य छन् ।
०७६ सालमा स्थापना गरिएको उक्त विद्यालयमा दिनभरी घाम नलागेपछि कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरू विद्यालय क्षेत्र भित्र आगो बालेर अध्ययन गरिरहेका हुन ।
गाउँपालिकाका सबै विद्यालय पुस र माघ पूर्ण रूपले बन्द गर्ने भएपनि कोभिड–१९ को कारण दुई वर्ष फागुनदेखि असारसम्म विद्यालय बन्द भएपछि विद्यार्थीको पढाईमा बाधा नहोस भनेर गाउँपालिकाले हिउँदमासमेत विद्यालय सञ्चालन गरेपछि विद्यार्थीहरूलाई चिसोबाट बचाउन आगो तापेर पढ्ने व्इवस्था गरिएको विद्यालयले जनाएको छ ।
कोभिड सङ्क्रमण फैलिनु भन्दा अगाडि गाउँपालिकाका सबै विद्यालय हिउँदमा बिदा हुने भएकाले बिद्यार्थीहरूले चिसोमा पढ्न पर्दैन थियो । कोभिडका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको पढाईमा बाधा भएको कारण कष्टकरसँग पढाउनु परेको प्रधानाध्यापक कुशल शाहीले बताउनुभयो ।
‘बिहान दुई घण्टा घाम ताप्नको लागि विद्यालय भन्दा १० मिनेट टाढा कर्णाली नदीको तिरमा लिनु पर्छ, त्यसपछि दिनभरी विद्यार्थीहरू आगो तापेर पढ्ने गरेका छन्’ प्रअ शाहीले भन्नुभयो ।
गाउँमा विद्यालय भएपनि नियमित पढाई नभएका कारण र पढाई तथा खानाको व्यवस्था भएकोले केहि अविभावकले यो आवासिय विद्यालयमा भर्ना गरेका छन ।

पढाई खानाको लागि रकम तिर्नु त पर्दैन तर, चिसोका कारण बालबालिकालाई सारै समस्या भएको मुगुम कार्मारोङ गाउँपालिका—३ का कार्मा तामाङले बताउनुभयो ।
आगो ताप्नका लागि चाहिने दाउराको व्यवस्था विद्यालयले गरेकोले आगो तापेर पढ्न सहज भएको कक्षा ७ मा अध्यनरत टोमा याग्जु लामाको भनाइ छ ।
विद्यार्थीलाई खाना बनाउन र दाउरा खोज्न जाँदा हैरान हुने गरेको विद्यालयका सहयोगि खड्क ऐडिले दुःखेसो गर्नुभयो । भवन अभावका कारण छात्र र छात्राका लागि छुट्टा छुट्टै राख्न समेत समस्या भएको उहाँको भनाइ छ ।
