बडीमालिका नगरपालिका–७ भुगाडी पाटाटोलमा खानपानी अभाव हुँदा दलितबस्तीका २४ भन्दा बढी परिवारका व्याक्तिहरु खोलाको दुषित पानी पिउन बाध्य भएका छन् ।
गाउँमा खानेपानीको अभाव भएपछि भुगाडी गाउँबाट एक घण्टाको दुरीमा रहेको कुन्नालीगाड खोलाको दुषित पानी खानु परेको स्थानीय जयबहादुर बिकले दुखेसो पोख्नु भयो ।
संघीय र प्रदेश सरकारबाट गाउँ नजिकै रहेको माथिल्लो गाउँमा घरघरमा पानीका धारा बनाएको भएपनि राजनीतिक आस्था नमिलेपछि आफूहरुलाई खानेपानी खान नदिएको विकले बताउनु भयो ।
शुद्ध खानेपानीको हक संविधानमा उल्लेख गरिएको भएपनि आफूहरुले खोलाको दुषित पानी पिउनु परेको स्थानीय रामबहादुर बिकले गुनासो गर्नु भयो ।
बडिमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले दलितबस्तीमा खानेपानी अभाव रहेको स्विकार्नु भयो ।
उहाँले भन्नु भयो– ‘ खानेपानीको ओजना बनाउँदा नै त्रुटी भएपछि दलितबस्तीमा समस्या उत्पन्न भएको हो । दलितबस्तीमा खानेपानी व्यवस्थापनका लागि इन्टेक निर्माणका लागि बजेट बिनियोजन गर्ने योजना गरिएको छ । केही महिना भित्रै समस्या समाधान हुन्छ ।’
गाउँमा खानेपानीको समस्या हुँदा घरको एक जनाले खानेपानी ल्याउनकै लागि दिनभरी खटिनु पर्ने बाध्यता रहेको स्थानीय हर्क बिकले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘ग्यालिनमा पानी बोक्दाबोक्दा टाउको खुइलिसक्यो । तर, हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी समस्य भोग्दै आएका छौँ । गाउँमा खानेपानीको अभाव हुँदा महिला तथा बालबालिकाहरूले बढी समस्या भोग्नु परेको छ ।’
गाउँमा खानेपानीको अभाव भएपछि बालबलिकाहरु विद्यालय जानबाट पनि वञ्चित हुनु परेको बडिमालिका नगरपालिका–७ की सुना बिक दुखेसो पोख्नु भयो ।
उहाँले भन्नु भयो– ‘एक घण्टा पैदल हिडेर खानेपानी बोक्न लाग्दा धेरै दिन बालबालिकाका स्कुल नै जान पाएका छैनन् ।’
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको स्पष्ट व्यवस्था गरिएको भएपनि बडिमालिका नगरपालिका–७ भुगाडी गाउँका बासिन्दाहरु दुषित पानी पिउन बाध्य छन् ।