INSEC Online

📅 २०८३ जेष्ठ २१

औषधि अभाव हुँदा सेवाग्राही समस्यामा

जिल्लाका अधिकांस स्वास्थ्य संस्थामा सिटामोललगायत नेपाल सरकारले निःशुल्क दिने भनेका औषधि नपाउँदा स्थानीय सेवाग्राहीहरुले सास्ती झेल्नु परेको छ ।

सात ओटा स्थानीय तह रहेको यस जिल्लाका अधिकांस स्थानीय स्तरमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव रहेको कारण स्थानीय सेवाग्राहीहरुले समस्या झेल्नु परेको अमरगढी नगरपालिका–१० का मनोज भट्टले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्थानीय तहहरुले वार्षिक रुपमा औषधि खरिद गर्ने गरेको बताउँदै आएका छन् । तर, स्वास्थ्य संस्थाहरुमा सिटामोलसम्म पाइदैन ।’

स्थानीय स्तरमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुको परीचालन र व्यवस्थापन गर्ने सम्पूर्ण अधिकार स्थानीय तहहरुको भएकाले स्वास्थ्य कार्यालयले चाहेर पनि केही गर्न नसक्ने अवस्थामा पुगेको स्वास्थ्य कार्यालय, डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्थानीयहरुले औषधि नपाएको भन्ने सुनेको छु । तर, स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिका लागि पहल हुन सकेको छैन् ।’

अमरगढी नगरपालिकास्थित स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव नभएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताउनु भयो । अमरगडी नगरपालिकाका कुनै स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव नै भएको भएपनी एक ÷ दुई दिनभित्रै औषधिको व्यवस्थापन गरिने बिष्टको भनाइ छ ।

पत्नी बिरामी भएपछि स्वास्थ्य चौकी लिएर गएको र स्वास्थ्यकर्मीले चेकजाँच गरी औषधि किन्नका लागि नीजि मेडिकलमा पठाउने गरेको परशुराम नगरपालिका–७ सादनीका जयानन्द भट्टले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्थानीय तहहरु गठन हुनुअघि जिल्लामा औषधिको खासै अभाव हुदैन थियो । औषधि खरिद गर्ने अधिकार स्थानीय तहलाई दिएपछि समस्या झेल्नु परेको छ ।’

स्वास्थ्य संस्थाहरुमा सिटोमोलसम्म नपाउने गरेकाले सामान्य उपचारका लागि नेपालसीम नजिकै रहेका भारीत स्वास्थ्य चौकीमा जानु पर्ने बाध्यता रहेको परशुराम नगरपालिका–७ का दानबहादुर मगरले गुनासो गर्नु भयो ।

परशुराम नगरपालिकाका केही स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको हुँदा नगरपालिकाले आवश्यक प्रक्रिया पुरा गरी औषधि खदिर गर्न टेन्डर गरिसकेकोले केही दिन भित्रै सेवाग्राहीहरुले स्वास्थ्य संस्थाबाट सहजै रुपमा औषधि पाउने परशुराम नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तेजबहादुर सिंहले बताउनु भयो ।

अन्य

भिडियो