विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले मिडिया ब्रिफिङका क्रममा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलने दर तीव्र रहेको बताउनु भएको छ ।
टेड्रोसले मङ्सिर २८ गते मिडिया ब्रिफिङमा ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्यन गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने औँल्याउनु भएको छ ।
‘हामीले यसअघिका भेरियन्टमा देखेकोभन्दा फरक गतिमा ओमिक्रोन फैलिइरहेको छ ।’- उहाँले भन्नु भयो । कोभिडको यो भेरियण्ट तीव्र गतिमा फैलिएकाले सचेत रहन र स्वास्थ्य अनुशासनको पालना गर्न टेड्रोसले आग्रह गर्नु भएको छ ।
टेड्रोसका अनुसार हालसम्म ७७ मुलुकमा ओमिक्रोनका सङ्क्रमित पुष्टि भइसकेका छन् ।