INSEC Online

📅 २०८३ जेष्ठ २१

डेकेन्द्र थापा हत्या प्रकरण : अरूण लगायत तीन जनालाई जन्मकैदको फैसला

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपित मध्येका ‘अरुण’ भन्ने बमबहादुर खड्कासमेत तीन जनालाई दैलेख जिल्ला अदालतले मङ्सिर २६ गते जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

डेकेन्द्र हत्याको १७ वर्षपछि दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका ४१ वर्षीय खड्कालाई सो सजाय भएको हो ।

खड्कालगायत नौजनाविरूद्ध उजुरी परेपछि गिरफ्तारीमा पर्ने डरले लुकीछिपी बस्दै आएका खड्कालाई दुईवर्षअघि प्रहरीले कैलालीबाटगिरफ्तार गरी दैलेख पठाएको थियो ।

प्रहरीले खड्कालाई दैलेख जिल्ला अदालतमा बुझाएपछि मुल्तवीमा रहेको मुद्दा जगाउँदै ०७६ फागुन २१ गते गरेको थुनछेक बहसपछि अदालतले त्यही दिन दैलेख कारागार चलान गरेको थियो ।

यो फैसलामा ‘अरुण’ भन्ने बमबहादुर खड्काको बाहेक हाल ‘फरार’ रहेका भगवतीमाई गाउँपालिका–६ का मुक्ति भन्ने बमबहादुर खड्का, दुल्लू नगरपालिका–६ का केशव खड्कालाई पनि जन्मकैदको फैसला भएको छ ।

यो मुद्दामा अहिले पनि ‘फरार’ आरोपित बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ ।

उनीलाई सजायको मागदावी गर्दै जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे र सहायक जिल्ला न्यायाधिवक्ता रूकमेदा पोखरेलले बहस गर्नुभएको थियो ।

आरोपितहरूको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू शालिकराम सापकोटा, छवि सुवेदी र सर्वराज जोशीले बहस गर्नुभएको थियो ।

सशस्त्र युद्धको बेला २०६१ साउन २७ गते नौमुलेको द्वारीमा माओवादी कार्यकर्ताहरूले मरणासन्न हुने गरी कुटेर पत्रकार थापाको हत्या गरेको आरोप थियो ।

दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेको बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरूले अपहरण गरेका थिए ।

अपहरणको ४५ दिनपछि थापाको हत्या भएको थियो । पत्रकार मारिएको भन्दै त्यसै बेला माओवादीको कडा आलोचना भएकाले माओवादीले थापालाई गाडिएको ठाउँ समेत गोप्य राखेको थियो ।

शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा नेपाल पत्रकार महासङ्घ र राष्ट्रिय मानव अधिकार आयोगले ०६५ साउन १३ गते नौमूले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन् गरिएपछि न्यायिक प्रक्रिया सुरू भएको थियो ।

घटनाको चारवर्षपछि थापाको कङ्कालको वैज्ञानिक परीक्षणपछि ०६५ साउन १८ गते हिन्दु धार्मिक परम्परा अनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारपछि पत्रकार थापाकी पत्नी लक्ष्मी थापाले ०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा नौजनाविरूद्ध किटानी उजुरी दिनुभएको थियो ।

सशस्त्र युद्धकालिन समयको घटना भएकाले विस्तृत शान्ति सम्झौता अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै माओवादी पक्षले दिएको दबाबका कारण मुद्दा चल्न सकेको थिएन ।

मानव अधिकारकर्मी र पत्रकारहरूको निरन्तर दबाबपछि ०६९ पुस २० गते प्रहरीले आरोपितनौजनामध्ये निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

गिरफ्तार परेकाहरूका सन्दर्भमा ०७१ मङ्सिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई/दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई १वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । प्रहरीका अनुसार उनीहरूले कैद भुक्तान गरिसकेका छन् ।

उक्त फैसलामा न्यायाधीश श्रेष्ठको इजलासले दुल्लू नगरपालिका–६ का यी ‘अरूण’ भन्ने बमबहादुर खड्का समेत चारजना गिरफ्तार परेको बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।

अपहरण गरेको डेढ महिनापछि ०६१ साउन २७ गते साविकको द्वारी गाविस-१ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोठाभित्र यातनादिएर मारिएका पत्रकार थापा त्यसबेला ३३ वर्षका हुनुहुन्यो । त्यसबेला उहाँ रेडियो नेपालको दैलख सम्वाददाता हुनुहुन्थ्यो । उहाँका पत्नी, दुई छोरी र छोरा छन् ।

पत्रकार थापाको हत्या घटनाको स्मरणमा पत्रकार जनक नेपालले ‘न्यायको लडाई’ नामको भिडियो डकुमेण्ट्री, मानव अधिकार संस्था एडभोकेसी फोरमले पुस्तक प्रकाशन गरेको लगायत नेपाल पत्रकार महासङ्घ र इन्सेकले निरन्तर फलोअप गरेका थिए ।

तत्कालिन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले मुल्तवी राखेको यो मुद्दा ‘अरुण’ बमबहादुर खड्का गिरफ्तारपछि फरार रहेका अरू तीन जनासमेतलाई सजाय सुनाएपछि आफूलाई खुशी लागेको डेकेन्द्रकी पत्नी लक्ष्मीले इन्सेकलाई बताउनुभयो ।

Photo20211213Dekendra

अन्य

भिडियो