द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानविन एवम् परीक्षणसम्बन्धी कार्यदल–२०७३ ले पहिलो चरणको प्रतिवेदन शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादवलाई बुझाएको राससले जनाएको छ ।
कार्यदलले काठमाडौँमा चैत २ गते पत्रकार सम्मेलनको आयोजना गरी सरकारले छानबिन गर्न दिएको कुल सङ्ख्या १४ हजार ९ सय ८८ मध्ये ३ हजार ८ सय ३० जनाको पहिलो चरणमा समावेश गरिएको प्रतिवेदन मन्त्री यादवलाई बुझाएको हो ।
प्रतिवेदनमा ३ हजार ८ सय ३० मध्ये अङ्गभङ्ग (अपाङ्ग/घाइते) १ हजार ६ सय ३०, टुहुरा बालबालिका ६८, अपहरणमा परेका व्यक्ति ७ सय ८८, मृतक १ सय २५, बेपत्ता पारिएका व्यक्ति ८३, विस्तापित ६ सय ५१ र सम्पत्ति क्षति ४ सय ८५ रहेको छ ।
कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री यादवले द्वन्द्वकालीन पीडा निकै पीडादायी भएको हुँदा तोकिएको समयभित्र कार्यसम्पादन गर्न कार्यदललाई आग्रह गरिन् । उनले सरकारले दिएको समयभित्र प्रतिवेदन बुझाउन र काममा देखाएको लगनशीलताप्रति आफू निकै खुसी भएको बताइन् ।
कार्यदलका संयोजक रामचन्द्र घिमिरेले सरकारले आफूलाई निश्चित सङ्ख्या तोकेर काम गर्नका लागि ४५ दिनको समय दिएको र आफूहरुले पहिलो चरणको प्रतिवेदन पूरा गरेको र बाँकी पनि समयभित्रै पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्रिपरिषद्को बैठकले ०७३ साल फागुन ११ गते द्वन्द्वकालीन यथार्थ घटना बाहिर ल्याउन एक कार्यदल निर्माण गरेको थियो ।