इट्टाभट्टामा लैजान लागिएका ६ जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालय सल्यानले उद्धार गरी घर फर्काएको छ ।
बनगाड कुपिण्डे नगरपालिका–१० निवासी १३ वर्षीय बालक, ११ वर्षीया बालिका, ९ वर्षीय बालक, ५ वर्षीया बालिका, ७ वर्षीय र ५ वर्षीय दुई बालक गरी ६ जना बालबालिकालाई उद्धार गरी अविभावकसँगै घर पठाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।
बालबालिकालाई इट्टा भट्टामा काम गर्न लैजान लागेको खबर पाएपछि प्रहरीले उनिहरूलाई मङ्सिर २३ गते सल्यानको श्रीनगरबाट उद्धार गरेको थियो ।
प्रहरीले इन्सेकलाई फोन गरेर बालबालिका तथा अविभावकलाई परामर्श गरीदिन अनुरोध गरेपछि इन्सेक जिल्ला प्रतिनिधीले बालबालिका र उनका आफन्तलाई परामर्श गर्नु भएको थियो ।
मनोपरामर्शपछि इन्सेकको रोहबरमा नै उनिहरूलाई सोहि दिन अविभावकसँगै घर फर्काइएको हो ।
बालबालिकालाई इट्टा भट्टामा लिएर काम लगाउनु भन्दा पनि आफूहरूले मजदुरी गर्ने र बालबालिकालाई पनि उतै लिएर पढाउने उद्देश्यले जान लागेको बालबालिकाका आफन्तले इन्सेक प्रतिनिधिलाई बताएका छन् ।
घरमा आय आर्जनको कुनैपनि माध्यम नभएको र खान बस्न समस्या भएका कारण काठमाण्डौ, धादिङ लगायतका इट्टाभट्टामा गएर मजदुरी गर्नु पर्ने बाध्यता रहेको उनिहरूको भनाइ छ ।
गाउँमा आफन्तहरूसँग बस्न मन हुँदा हुँदै पनि स्थानीय सरकारले कुनै रोजगार मुलक कार्यक्रम ल्याउन नसकेका कारण मजदुरीको विकल्प नरहेको एक अविभावकले बताउनुभयो ।
नेपाल सरकारले आधारभूत तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने भनेतापनि अझै सबै बालबालिका विद्यालयको पहुँचसम्म पुग्न सकेको देखिदैन ।