INSEC Online

📅 २०८३ जेष्ठ २१

आम-उपभोक्ताको मानव अधिकारको संरक्षण र सम्मान गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ताको मानव अधिकारको संरक्षणका लागि अनुगमन तथा अनुसन्धान गरी जिम्मेवार निकाय र पक्षहरूलाई दायित्ववोध तथा सचेतीकरण गराउने कार्य हुँदै आएको जनाएको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईद्वारा चैत २ गते हस्ताक्षरित विज्ञप्तिमा अनुगमनको क्रममा आम-उपभोक्ताका अधिकारहरूको प्रभावकारी संरक्षण र कार्यान्वयन हुन नसकिरहेको पाइएको हुँदा उपभोक्ता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मार्च, १५ को सन्दर्भमा आम उपभोक्ताका अधिकारहरूको संरक्षण सुनिश्चितताको लागि अग्रसर भई कार्य गर्न आयोग सम्बद्व सबैलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ-‘उपभोक्ताका मानव अधिकारको प्रभावकारी संरक्षण र कार्यान्वयन गर्ने सवालमा आयोगले आफ्नो  रणनीतिक योजना र वार्षिक कार्ययोजनामा समाविष्ट गरी उपभोक्ता अधिकारको अनुगमन र यस सम्वन्धमा परेका उजुरीहरू उपर निरन्तर अनुगमन र अनुसन्धान गर्दै आएको छ ।’

नेपालको संविधान, उपभोक्त हित संरक्षण ऐनलगायत उपभोक्ता अधिकारका लागि विद्यमान नेपाल कानुन र उपभोक्ता अधिकारको संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मार्गनिर्देशिका समेतको प्रभावकारी कार्यान्वयन गरी आम उपभोक्ताको मानव अधिकारको संरक्षण र संबर्द्वन गर्न आयोगले नेपाल सरकार र सम्बन्धित सरोकारवालाहरूलाई आग्रहसमेत गरेको छ ।

इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार रोल्पाका उपभोक्ताहरूले जिल्लाका मुख्य बजारमासमेत कुनैपनि पसलहरूमा मूल्यसूची नराखिएको भन्दै प्रशासन प्रमुखसँग गुनासो गरेका छन् ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा चैत २ गते जिल्ला प्रशासन कार्यालय रोल्पाले लिवाङमा आयोजना गरेको उपभोक्ता जागरण कार्यक्रममा सहभागीहरूले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागी पत्रकार तथा मानव अधिकारकर्मी खेम बुढाले जिल्लाको कुनैपनि पसलमा मूल्यसूची नराखिएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पाको ध्यानाकर्षण गराएका थिए ।

उपभोक्ता मञ्च रोल्पाका सचिव मानसिङ बिकले ‘सिडिओ’ले किन्दा पर्ने मुल्य र गाउँबाट आएका सर्वसाधारण नागरिकले किन्दा पर्ने कुनैपनि वस्तुको मूल्य धेरै फरक हुने गरेको गुनासो गरे ।

कार्यक्रमका सहभागीहरूले मदिरा नियन्त्रण तथा नियमन, सडक निर्माणमा प्रयोग हुने डोजरहरूको ज्यालामा भिन्नता, पसल अनुसारको मुल्यमा एकरूपता नभएको, ठूला व्यापारीहरूले पनि कर नतिर्दा उपभोक्ता ठगिएको बारेमा गुनासो राखेका थिए ।

कार्यक्रममा बोल्दै सांसद् अमरसिङ पुनले हामी सबै उपभोक्ता भएकाले उपभोग्य वस्तु गुणस्तरीय बनाउन सबै जागरूक बन्नुपर्ने बताए । ‘सबै जिम्मा राज्यको मात्रै हो भन्ने ठानेर हामी जागरूक भएनौँ भने हाम्रो स्वास्थ्यमा नै हानी हुने हो ।’-सांसद् पुनले भने । जिल्लामै उत्पादन हुने बस्तुमा आत्मनिर्भर बन्न सक्नुपर्नेमा उनले जोड दिए ।

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जिल्ला प्रशासन कार्यालय पनि अर्धन्यायिक निकाय भएकाले अनुगमनकै क्रममा कारबाही गर्न नसकिने बताए । ‘कम्तीमा पनि अनुगमनका क्रममा गलत कार्य गरेको भेटिएमा जरिबाना गर्न सक्ने व्यवस्था समेत छैन ।’-प्रजिअ भट्टराईले भने ।

इन्सेक दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार बजारमा कालोबजारी, सिन्डिकेट, कार्टेलिङ, तौलमा कमी जस्ता समस्या कायम रहेकाले पनि सो दिवस नारामै सीमित बन्न पुगेको सरोकारवालाहरूले आरोप लगाएका छन् । साथै उपभोक्ताहरूले उजुरी नगर्ने, मूल्य सूची, लेवल, मिति नहेर्ने जस्ता कारणले उपभोक्ता ठगिँदै आएको उपभोक्ता हकहित मञ्च दार्चुलाका अध्यक्ष शङ्करसिंह धामीले बताए ।

उपभोक्ताको हक अधिकार सुरक्षित राख्न उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएसँगै नेपालमा यो दिवस थालिएपनि प्रभावकारी कार्यान्वयनको समस्या भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले कोही न कोही केही न केही उपभोग गर्ने उपभोक्ता भएकाले आफै सचेत हुनु जरूरी रहेको बताए ।

खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधि, यातायातलगायतका सबै क्षेत्रमा उपभोक्ता ठगिइरहेका छन् ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार अहिले पनि उपभोक्ता अधिकार सुनिश्चित हुन नसकेको चैत २ गते तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरूले निष्कर्षनिकालेका छन् ।

जिल्ला प्रशासन कार्यालय पाल्पाको आयोजना तथा आपूर्ति मन्त्रालयको सहयोगमा उपभोक्ता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अर्न्तक्रिया कार्यक्रमका वक्ताहरूले उक्त निश्कर्षनिकालेका हुन् ।

कार्यक्रममा उपभोक्ता अधिकारका सवालमा जिल्ला समन्वय समितिका वरिष्ठ सूचना अधिकृत दुर्गाबहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा उपभोक्ताका तर्फबाट बोल्दै हुमनाथ पाण्डेले यसप्रकारको कार्यक्रम व्यापारीहरूका माझमा गर्नुपर्ने बताए ।

उनले अहिले उपभोक्ता अधिकारका सवालमा धेरै कुरा भएपनि कार्यान्वयन हुन नसकेको, बजार अनुगमन हुन नसकेको र कतिपय उत्पादन र ‘म्याद’ सकिने मिति नै नभएका वस्तु बजारमा खुल्लम खुल्ला विक्री भइरहेको आरोप लगाए ।

प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले उपभोक्ता अधिकारको कार्यान्वयनमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट कुनै कञ्जुस्याईँ नहुने प्रतिबद्धता जनाए । उनले जिल्ला प्रशासनको तर्फबाट हुने बजार अनुगमनलाई तीव्रता दिइने पनि बताए ।

अन्य

भिडियो