राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगञ्ज, एडभोकेसी फोरमलगायत मानव अधिकार सङ्घ संस्थामा आवद्ध अधिकारकर्मीहरूले मङ्सिर २३ गते बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधार गृहको अनुगमन गरेका छन् ।
अनुगमन टोलीले बाल सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरलाई भेटेर सुधार गृहमा भएको समस्याका विषयमा जानकारी लिनुका साथै सुझावसमेत दिएका थिए ।
अनुगमनका क्रममा भवन निमार्णमा ढिलाई हुँदा बालकहरूलाई सुत्न गाह्रो भएको, छाला रोगको समस्या देखिएको र अध्ययनरत विद्यार्थीहरूलाई केही पाठ्यपुस्तककोसमेत अभाव रहेको पाइएको इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।

बाल सुधार गृहकी इन्चार्र्ज विमला काउचामगरले सुधार गृहमा सुत्ने कोठा र जाडोको कपडाको कमि भएकोले समस्या देखिएको बताउनु भयो । मगरले सुरक्षाकर्मीको दरबन्दी नभएकोले हाल बाल सुधार गृहमा ११ जना सुरक्षाकर्मीहरूले मात्र सुरक्षा दिइरहेको बताउनु भयो ।
७० जनाको क्षमता भएको बाल सुधार गृहमा १ सय ७५ जना बालकहरू रहेका छन् । क्षमता भन्दा बढी सङ्ख्यामा बालकहरू रहेकोले भौतिक व्यवस्थापन गर्नमा कठिनाई भएको छ ।
बाल सुधार गृहका शिक्षक विजयप्रसाद मुराउका अनुसार सुधार गृहमा रहेका बालकहरूलाई डुडुवा गाउँपालिका–६ स्थित सरस्वती माविमा भर्ना अध्ययन गरीरहेका छन् ।
कक्षा ५ मा आठ जना , कक्षा ६ मा नौ जना ,कक्षा ७ मा २१ जना , कक्षा ८ मा १६ जना, कक्षा ९ मा १५ जना , कक्षा १० मा तीन जना, कक्षा ११ मा दुई जना र कक्षा १२ मा दुई जनाले सुधार गृहबाट अध्ययन गरी रहेका छन् । सुधार गृहमा कक्षा ७ , ८ र ९ का केही विद्यार्थीहरूलाई पाठ्य पुस्तक नपुगेकाले सहयोग गरिदिन अधिकारकर्मीहरूलाई आग्रह गर्नु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकर रावलले बाल सुधार गृहको समस्या समाधान गर्नमा सम्बन्धीत निकायमा पहल गर्ने बताउनु भयो ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले बालकहरूमा देखिएको छाला रोगको उपचारका लागि इन्सेकले पहल गर्ने बताउनु भयो ।
अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङकरबहादुर रावल, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत , एडभोकेसी फोरमका संयोजक बसन्त गौतम र इन्सेक बाँके प्रतिनिधि स्मृति देवकोटा रहेका थिए ।