तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालमाथि मंसिर १७ कार्यकक्षमै दुर्व्यवहार गरिएको छ ।
योजनाको भुक्तानी गर्ने विषयमा विवाद हुँदा तातोपानी गाउँपालिकाका उपाध्यक्ष गङ्गादेवी उपाध्यायका पति लक्ष्मीप्रसाद उपाध्यायले प्रमुख प्रशासकीय अधिकृत धितालमाथि हातपात गरी दुर्व्यवहार गरेको भन्दै गाउँपालिकाका कर्मचारीले मङ्सिर १७ गते प्रेस विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्षका पति लक्ष्मीप्रसादले योजनाको प्रक्रिया नपुगेको भुक्तानी माग्न खोज्दा सो विषयमा विवाद उत्पन्न भई प्रमुख प्रशासकीय अधिकृत धितालमाथि आक्रमण गरी हातपात गरेको र उपाध्यक्ष स्वयंले हाल कार्यवाहक अध्यक्ष हुँ, आजैका मितिदेखि कार्यालयमा उपस्थित नहुनू भनी दिएको धम्कीप्रति सम्पूर्ण कर्मचारी भत्र्सना गर्दछौँ ।’

कर्मचारीलाई सहज ढङ्गबाट काम गर्ने वातावरण नभएकाले निकास नआएसम्म मङ्सिर १९ गतेदेखि गाउँपालिकाका सबै काम ठप्प पार्ने चेतावनी समेत दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत धितालले आफूमाथि उपाध्यक्ष उपाध्याय र उनका पति लक्ष्मीप्रसादले हातपात गर्न खाजेको तर कर्मचारीहरू बचाएको बताउनुभयो ।

‘कोल्डस्टोरको जग्गा सहकारीका नाममा नभएसम्म भुक्तानी दिन मिल्दैन । अहिले मन्जुरीनामा मात्रै छ । प्रक्रिया नपुगेकै कारण भुक्तानी गरेर पनि खाता रोक्का गरिएको हो’ उहाँले भन्नुभयो– मलेप आलेपले पनि जग्गा सहकारीका नाममा नभएसम्म भुक्तानी नदिन भनेको छ । प्रक्रिया मिलाउने भन्दा दादागिरी देखाएर उपाध्यक्ष र उनका पतिले दुर्वय्वहार गरेका हुन् ।’
घटनाका आरोपित लक्ष्मीप्रसाद उपाध्यायको भने प्रमुख प्रशासकीय अधिकृतसँग खाता फुकुवा गर्ने विषयमा सामान्य भनाभन भएको तर, हातपात नभएको जिकिर छ ।
‘काम सम्पन्न भएर सबै प्रक्रिया पुरा गरी भुक्तानी लिनुपर्ने ९ लाख ५० हजार रूपियाँ खातामा आएको तर खाता रोक्का भएकाले फुकुवा गरिदिन अनुरोध गरेका थियौँ’, लक्ष्मीप्रसादले भन्नुभयोे, ‘तर हाकिमले मेरो बैंक खाता किन रोक्का भयो, फुकुवा नहुनुको कारण के हो निवेदन चाहियो । अदालत जान्छु भन्दा पनि निवेदन दिन आलटाल गरी प्रक्रिया नपुगेको भनेर लेखेपछि मैले त्यही निवेदन च्यातेको हुँ ।’
अन्य सोही प्रकृतिका योजना भुक्तानी भइसकेको तर कृषि उत्पादन अन्तर्गतका सामूहिक स्याउ बगैँचा, सामग्री व्यवस्थापन, कोल्डस्टोर निर्माण योजनाको भुक्तानीमा भने आलटाल गरिएपछि विवाद भएको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृतले घुस मागेको तर नदिएकै कारण भुक्तानीमा ढिलासुस्ती गरेको लक्ष्मीप्रसादको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत धितालले भने घुस मागेको कुरा झुठो भएको दाबी गर्नुभयो ।
अहिलेसम्म घुस मागेको कुनै प्रमाण भए देखाउनसमेत उहाँले उपाध्यायलाई चुनौती दिनु भयो । प्रक्रिया नमिलाएर ल्याएका काम गर्न नमान्दा विभिन्न आरोप लगाइएको धितालको भनाइ छ । पालिका उपाध्यक्ष गङ्गादेवीले पनि हातपात गर्न खोजेको र गैरजिम्मेवारी रूपमा बोलेको धितालले बताउनुभयो ।
यता उपाध्यक्ष उपाध्यायले भने प्रशासकीय अधिकृतले आफूलाई अपहेलित गरेको कारण उहाँको कठालो समातेको बताउनुभयो ।
‘मलाई कर्मचारीले अपहेलित गरेर गाउँपालिका कार्यालयमै तथानाम बोले । गाउँपालिकाको कामका विषयमा जतिबेला पनि पतिकै नाम जोडेपछि रिस उठेको हो । अब म अदालत जान्छु’ उहाँले भन्नुभयो ।
घटनाको विषयमा प्रमुख प्रशासकीय अधिकृत धितालले मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयको रोहबरमा आउँदा दिनमा छलफल मार्फत समस्याको समाधान गर्ने र भुक्तानीको विषयमा कार्यपालिकाले गर्ने निर्णय अनुुसार लागु हुनेगरी मिलापत्र भएको इन्स्पेक्टर युवन चौधरीले बताउनुभयो ।
