दुधौली नगरपालिका–४ मा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालय बाँसबारी पचरुखी बन्द गरेर नेपाली कांग्रेस पार्टीको कार्यक्रम गरिएको छ ।
कांग्रेसले विद्यालयको पठनपाठन नै प्रभावित गरेर मङ्सिर ३ गते सिन्धुली क्षेत्र नं. १ ‘क’ को प्रदेश अधिवेशन गरेको हो ।
पढ्न भनेर विद्यालय हिँडेका विद्यार्थीहरू विद्यालय नपुग्दै नेताहरूको भीड देखेर घर फर्किएका स्थानीय सुनिता आलेले बताउनुभयो ।
अधिवेशनको कार्यक्रम विद्यालयकै एक भवनमा भएको थियो भने अर्को भवनमा पढाउन ६ जना शिक्षक शिक्षिका उपस्थित थिए ।
तर, विद्यार्थी भने विद्यालय आएर फर्किएका थिए । न शिक्षक शिक्षिकाले विद्यार्थीलाई विद्यालय बोलाउन सके न विद्यार्थी नै स्कुल भित्र प्रवेश गर्न सके ।

विद्यालयका प्रध्यानाध्यापक प्रेमप्रसाद भट्टराई नेपाली कांग्रेस निकट नेपाल शिक्षक सङ्घमा आबद्ध रहनु भएको स्थानीयले बताए ।
विभिन्न चाडपर्वहरू र मङ्सिरमा हुने विभिन्न मेलाले गर्दा विद्यार्थीहरू नआउने गरेकाले पनि स्कुलले पार्टीको कार्यक्रम गर्न दिएको उहाँको भनाई छ ।
प्रधानाध्यापक भट्टराईले भन्नुभयो–‘विद्यालयको अधिकार सुनिश्चित गर्न र उन्नतशील शिक्षा हासिल गर्ने उद्देश्यले विद्यालयले पार्टीको कार्यक्रम गर्न दिएको हो ।’’
राज्यले दायित्व नलिएको अवस्थामा यस्ता कार्यक्रम गरेर विद्यार्थीको हक हित र शैक्षिक क्षेत्रको समग्र विकास गर्न समय उपलब्ध गराएको उहाँले बताउनुभयो ।
प्रदेश अधिवेशनमा पार्टीका कार्यकर्ताहरूले विद्यालयको प्राङ्गणमा भोजभतेर गरेका छन् ।

सरकारले विद्यालय शान्ति क्षेत्र घोषणा गरेको छ । विद्यालयको पठनपाठन नै प्रभावित गर्ने गरी गरिएका राजनीतिक कार्यक्रमले बालबालिकाको पढ्न पाउने अधिकारको हनन् भएको स्थानीय मानव अधिकारकर्मीहरूले बताएका छन् ।