सिम्रोनगढ नगरपालिकाको कार्यालयले मुख्य चाडपर्वको अवसरमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै बालबालिकाका अभिभावक र ज्येष्ठ नागरिकहरूले इन्सेक बारा जिल्ला प्रतिनिधिसँग बालपोषण भत्ता र सामाजिक सुरक्षा भत्ताका लागि पहल गर्न अनुरोध गरेपछि जिल्ला प्रतिनिधले पहल थाल्नु भएको छ ।
२०७७ सालको तेस्रो चौमासिकमा वितरण गर्नुपर्ने रकम नपाएको भन्दै बालबालिकाका अभिभावक र ज्येष्ठ नागरिकहरूले कात्तिक २९ गते इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई सोको लागि पहल गरिदिन सिम्रोनगढ नगरपालिका–४ गङ्गानगरका नागरिकहरूले अनुरोध गरेपछि पौडेलले सोका लागि पहल थाल्नु भएको हो ।
बालबालिकाका अभिभावक र ज्येष्ठ नागरिकले अनुरोध गरेपछि इन्सेक प्रतिनिधि पौडेलले सिम्रोनगढ नगरपालिका–४ गङ्गानगरका वडा अध्यक्ष राजेश यादव र कर्मचारीसँग छलफल गर्दा वडा कार्यालयका जनप्रनिनिधि र कर्मचारीले धेरै प्रयास गरेपनि चार्डपर्वमा निकासा गर्न नसकेको बताएका छन् ।
सामाजिक सुरक्षा भत्ता समयमा वितरण नभएकाले समस्या भएको बताउँदै उनीहरूले यस्ता समस्याको दीर्घकालीन समाधानमा आपूmहरूको ध्यान आकर्षण भएको बताएका छन् ।
सोही वडाका वडा सचिव उमेश यादवले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने रकम सिम्रोनगढ नगरपालिकाको खातामा कात्तिक २९ गते आएकाले २०७८ मङ्सिरको पहिलो हप्तामा सबै लाभग्राहीले बैङ्कमा गएर आफ्नो खाताबाट लिन सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले जिम्मेवारी पाएको एक हप्ता भएकाले ढिलो भएकोमा अब एक हप्तामा सबै सेवाग्रहीले प्राप्त गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।
सिम्रोनगढ नगरपालिका–४ गङ्गानगरका २७ वर्षीय राकेश महरा चमारले गरिबिको समस्याले पर्व मनाउन समस्या भएको गुनासो गर्नु भयो ।
सोही टोलका ६४वर्षीय नागेन्द्र महरा चमारले २०७८ साउनदेखि कात्तिकसम्मको सामाजिक सुरक्षा भत्ता नपाएका कारण उपचारमा समस्या भएको बताउनुभयो ।