INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षद्वारा विद्यालयमा आगजनी

जनकपुरधाम उपमहानगरपालिका–१ पुल्चोकस्थित शिव शारदा सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा अज्ञात पक्षले कात्तिक २५ गते बिहान आगजनी गरेको छ ।

विद्यालयको कार्यालयमा ताला तोडेर आगजनी गरिएको विद्यालयका सञ्चालक सुजित मिश्रले बताउनुभयो ।

आगजनीबाट करिब १० लाख रुपियाँ बराबरको भौतिक क्षति भएको सञ्चालक मिश्रले बताउनुभयो ।

आगजनीबाट विद्यालयका तीन ओटा दराज, दुई थान सोफा, विद्यालयका महत्वपूर्ण कागजपत्र, टेलिभिजन, दुई थान प्रिन्टर, प्रधानाध्यापक बस्ने कुर्सी, टेबललगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

विद्यालयमा कोही नभएको समयमा विद्यालय प्रवेश गर्ने मुख्य गेट, अफिस छिर्ने गेट, अफिसको ढोकाको ताला फोरेर आगजनी गरेको प्रहरीले जनाएको छ ।

विद्यालयको प्रशासनिक कोठामा गरिएको आगजनीबाट स्थापनाकालदेखिको विद्यालयको सबै अभिलेख जलेर नष्ट भएको छ ।

विद्यालयका सञ्चालक सुजित मिश्रले शैक्षिक संस्थामा आगजनी गरेर लाखौँ रुपियाँको क्षति भएकाले दोषीको खोजी गरेर कडा कारवाही गर्न जिल्ला प्रहरी कार्यालय धनुषामा कात्तिक २६ गते उजुरी दिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले विद्यालयमा अज्ञात पक्षले गरेको आगजनीको मुचुल्का गरी घटनाबारे अनुसन्धान गरिरहेको बताउनुभयो ।

photo20211113dhanusha

अन्य

भिडियो