फक्ताङलुङ गाउँपालिका–४ इखाबुका २१ वर्षीय सरोज काम्बाङ लिम्बूलाई आर्थिक अभावमा सात महिनादेखि घरको सिकुवाको धुरीखम्बामा साङ्लाले बाँधेर राखिएको छ ।
यहि सिकुवा सरोजको संसार भएको छ । सरोजका लागि भान्सा कोठा, सुत्ने कोठा वा शौचालय भने पनि यहि हो ।

एक्कासी मानसिक रोगले सरोज थलिएपछि परिवारमा पीडा थपिएको हो । बिहानबेलुकी हातमुख जोर्न नै हम्मेहम्मे पर्ने यो परिवारले छोराको उपचारका लागि ऋण गरेर लाखाँै रुपियाँ खर्च गर्दा पनि निको भएन ।
‘झापाको बिएण्डसी अस्पताल हुँदै भारतको सिलगुडीसम्म उपचार गराउँदा लाखौँ रुपियाँ सकियो । उपचारमा भ्याएसम्म खर्च गरियो । अहिले ऋणको बोझले पिरोल्न थालेको छ । आर्थिक अभावले उपचार गराउन सम्भव नभएपछि छोरालाई साङ्लाले बाँधेर राख्नु परेको हो ।’–६० वर्षीया आमा गौमाया काम्वाङ लिम्बूले भन्नु भयो ।
साङ्लाले नबाँधेमा सरोले परिवारका सदस्य तथा बटुवालाई नै कुटपिट गर्ने गरेको आमा गौमायाले बताउनु भयो ।
‘त्यही भएर परिवारकै सदस्य पनि छेउमै प्राय जाँदैनन् । साङलाले हात र गोडामा चोट लाग्न थालेको छ । लगाएका लुगा च्यातिका छन् ।’–गौमायाले भन्नु भयो ।
कक्षा–१० अध्ययन गर्दासम्म सरोजको अवस्था सामान्य नै रहेको उहाँले बताउनु भयो ।
भाइको स्वास्थ्य उपचारका लागि धेरैसँग सहयोगको याचना गरेको दिदी रीता काम्बाङ लिम्बुले बताउनु भयो ।
‘गाउँपालिकाले पनि सहयोग दिने भनेको छ । तर, अझैसम्म दिएको छैन ।’–रीताले भन्नु भयो ।
ऋण गरेर ५ लाख ५० हजार रुपियाँ खर्च गरेपनि निको नभएकोमा परिवारका सदस्यले चिन्ता व्यक्त गरेका छन् ।
संविधान ०७२ भाग–३ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा (३५) मा स्वास्थ्यसम्बन्धी हकको उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनिएको छ ।
तर, सरोज भने आर्थिक अभावले थप उपचार गर्न नसकेर साङ्लोमा बाँधिएर बस्नु परेको छ ।
